बारामा व्यवसायी दम्पतीकाे विभत्स हत्या

बारा, १६ मंसिर । बारामा फेरि अर्काे बिभत्स हत्या भएकाे छ । बाराकाे बजनीमा एक व्यवसायीका दम्पतीकाे हत्या भएकाे हाे ।

दाेस्राे चरणकाे निर्वाचन नजिकिदै गर्दा यस्ताे विभत्स हत्या भएपछि स्थानीयवासी त्रसित बनेका छन् । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका बजनीका व्यवसायी ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको विभत्सरुपमा हत्या गरिएको हाे । अनुहार क्षतविक्षत भएकाे अवस्थामा दुर्इ दम्पतीकाे शव अाज बिहान फेला परेकाे छ । उनीहरु बजनीमै गाइपालन गर्दै अाएका थिए ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।

घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

हत्यापछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको पाइएको छ । विहान गाईहरु ठूलो स्वरले कराएपछि गएर हेर्दा उनीहरुको मृत्यु भएको देखेको स्थानीय वासिन्दाले बताए ।

उनीहरुको गाई फार्म घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा एकान्तमा छ । हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा पुगेको छ ।

Loading...