यसरी खसेको थियो त्रिशुलीमा यात्रुवाहक बस

बुधवार बिहान राजधानी काठमाडाैंबाट अर्घाखाँची जाँदै गरेकाे बस त्रिशुली नदीमा खस्याे । दुर्घटनामा परी ८ जनाकाे मृत्यु भयाे भने १९ जना घाइते भए । यस दुर्घटनाबाट भाग्यले घाइते भएर पनि बाँचेकी इन्दिरा दमासेले दुर्घटनाबारे यसरी भनेकी छन् ।

म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ । नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए । बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो । विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन । घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो । तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए । ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो । पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो । म बेहोस भएछु । घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे ।

त्रिशूलीमा बस खस्दा आठको मृत्यु, १९ घाइते

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु.१ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् । बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना.६ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो ।

सात यात्रुको घटनास्थलमै र एककोे उपचारको क्रममा काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साँझसम्म मृतक पाँचजनाको मात्रै सनाखत भएको छ ।

अर्घाखाँचीकाे मालारानी गाउँपालिका (हंसपुर)का ५२ वर्षीय नुधराज अधिकारी, दैलेखका ३२ वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाटका ५० वर्षीय कृष्ण ढकाल, अर्घाखाँचीको सन्धिखर्ककी ४३ वर्षीया लक्ष्मी पौडेल र नवलपरासीको देवदह नगरपालिकाका अन्दाजी २५ वर्षीय दीपक पाण्डेको मृत्यु भएको छ । पौडेलको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पाँच घाइतेको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा, दुईको ग्रान्डी अस्पतालमा, दुईको कुरिनघाटस्थित मनोकामना पोलिक्लिनिकमा र बाँकीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सहचालक सुनील क्षेत्रीका अनुसार बसमा ३२ यात्रु थिए ।

घाइते परिवारले आफै मगाउनुपर्‍यो हेलिकोप्टर

काठमाडौंबाट सय किलोमिटरनजिकै मुख्य राजमार्गमा दुर्घटना भए पनि उद्धारमा सरकार उदासीन देखियो । घटनाको १२ घन्टासम्म शव ४० किलोमिटर पर भरतपुरसम्म पुर्‍याइएको थिएन । त्यसैले आफन्तहरू को जिउँदो छ र को बेपत्ता छ भन्ने विषयमा अन्योलमा थिए ।

सरकारको प्रतीक्षा गर्दा घाइतेको पनि ज्यान जाने अवस्था आएकाले परिवारले आफै हेलिकोप्टर मगाउनुपरेको थियो । घाइते ध्रुव दमासेको परिवारले आफ्नै खर्चमा हेलिकोप्टर मगाएर काठमाडौं लगेको हो । सोही हेलिकोप्टरमा घाइते निशा थापालाई पनि काठमाडौं पुर्‍याइएको छ ।

एक वर्षमा ४१ को ज्यान गयो, १८ बेपत्ता

चितवनको मौवाखोला (धादिङ सिमाना)देखि देवघाटसम्म त्रिशूली नदी क्षेत्र पर्छ । आर्थिक वर्ष ०७३-७४ मा यस क्षेत्रमा भएका २७ दुर्घटनामा ४१ जनाले ज्यान गुमाए । ८९ घाइते भए । १८ जना त अझै पनि त्रिशूलीमा बेपत्ता छन् ।

९ असोज ०७३ मा पूर्वगृहमन्त्री माधव घिमिरे र उनको परिवार सवार जिप त्रिशूलीमा खस्यो । दुर्घटनामा चारजनाको निधन भयो । घिमिरेको शव हालसम्म पनि फेला परेको छैन । त्यस्तै, १० भदौ ०७३ मा नारायणगढ–मुग्लिङ सडकखण्डको कालिखोलानजिक रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग.१ख ३७०९ नम्बरको बस नदीमा खस्दा २५ यात्रुले ज्यान गुमाए । १० जना अझै बेपत्ता छन् ।

९ असार ०७४ को राति नारायणगढ–मुग्लिङ सडकखण्डको कालिखोलामा आएको पहिरोले इप्रका मुग्लिङको ना.१झ. १३९० नम्बरको प्रहरीको भ्यान बगायो । जसमा असइसहित तीनजनाको निधन भयो । गाडी र एक प्रहरी त्रिशूलीमै बेपत्ता भए । गत १५ असोजमा भरतपुर २९ घुमाउनेमा ना.७ख १४५७ नम्बरको भंँसी बोकेको ट्रक अनियन्त्रित भई नदीमा खस्दा एकजनाको निधन भयो । प्रहरी रिपोर्टअनुसार यस आर्थिक वर्षमा त्रिशूलीमा गाडी खसेर मर्नेको संख्या नौ पुगेको छ ।

Loading...