बालुवाटारपछि उदयपुरमा शक्तिशाली बम विष्फोट, का‌ंग्रेस उम्मेदवार कार्की गम्भीर घाइते

उदयपुर, १३ मंसिर । उदयपुरकाे कटारी नजिकै पर्ने दनुवार बेंसीमा वम विष्फाेटमा परी नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् ।

नेपालटार बजारमा आयोजना गरिएकाे आमसभामा सहभागी जाँदै गर्दा कार्की चढेकाे गाडी सडक मुनि बिच्छ्याइएकाे एम्बुसमा पर्दा कार्कीसहित चार जना घाइते भएका हुन् । बिहान करिब साढे १० बजेतिर भएकाे विष्फाेटबाट घाइते भएका उम्मेदवार कार्कीकाे अवस्था चिन्ताजनक रहेकाे बताइएकाे छ ।

उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले उदयपुरगढी गाउँपालिकाको वडा ५ र ६ को बीचमा पर्ने दनुवार बेंसीमा उक्त घटना भएकाे जानकारी दिएका छन् । कार्की बा १५ च ७८०६ नम्बरकाे गाडीमा थिए । एम्बुसमा परेकाे गाडी सडकबाट करिब १० फिट उफ्रेर भुर्इमा पछारिएकाे प्रत्यक्षदर्शीले जनाएका छन् ।

कार्की उदयपुर क्षेत्र नं. २ का उम्मेदवार हुन् । विस्फोटमा परी नेपाली कांग्रेसका कार्यकर्ताहरु धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल पनि घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइते उम्मेदवार कार्कीलार्इ हेलिकाेप्टरबाट काठमाडाै ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यसअघि अाजै बिहान ६ बजेतिर राजधानी काठमाडाैंकाे बालुवाटारमा रहेकाे प्रधानमन्त्री निवासकाे गेटमा बम विस्फोट भएको थियाे । प्रम निवासकाे २ नम्बर गेटमा बम विष्फाेट हुँदा त्यहाँ वरपर रहेका मानिसहरुकाे भागाभाग भएकाे थियाे ।

 

Loading...