अफगानिस्तान यू–१९ एसिया कपको च्याम्पियन

काठमाडाैं । अफगानिस्तान यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । मलेसियाको किन्रारा ओभल मैदानमा आइतबार अफगानिस्तानले पाकिस्तानमाथि १ सय ८५ रनको फराकिलो अन्तरले जित निकाल्दै उपाधि जितेको हो । अफगानिस्तान पहिलोपटक फाइनलमा प्रवेश गरेको थियो । यसअघि तीनै संस्करणमा अफगानिस्तान सेमिफाइनलमा पुगेको थियो ।

२ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ६३ रनमै समेटियो । पाकिस्तानी ब्याट्सम्यानले केवल २२.१ ओभरमा मात्र ब्याटिङ गर्न सके । यसअघि लिग चरणमा पनि अफगानिस्तानले पाकिस्तानलाई हराएको थियो । अफगानिस्तानलाई उपाधि दिलाउने क्रममा सिमर मुजिव उर रहमानले उत्कृष्ट बलिङ गरेका थिए । उनले ७.१ ओभरमा १३ रन मात्र खर्चेर पाकिस्तानका पाँच ब्याट्सम्यानलाई पेभेलियन पठाए । यसक्रममा उनले दुई मेडनसमेत फ्याँके । पाकिस्तानका दुवै ओपनरलाई रहमानले नै आउट पारे ।

उपाधिको प्रमुख दाबेदारमध्ये एक पाकिस्तानले फाइनलमा कमजोर ब्याटिङ प्रदर्शन ग¥यो । पाकिस्तानको ब्याटिङ इनिङमा तीनपटक मात्र दोहोरो रनका लागि साझेदारी भयो । अब्दुल सकिफ र मोहमद ताहाले तेस्रो विकेटका लागि ४३ बलमा १२ रनको साझेदारी गरे । ताहाले साद खानसँग पाँचौँ विकेटका लागि १२ बलमा १० रनको साझेदारी गरे । त्यसपछि खानले महमद हसनसँग छैटौँ विकेटका लागि १९ बलमा १२ रन जोडे । यसअघि अन्य विकेटका लागि दोहोरो साझेदारी भएन । सो इनिङमा ताहाले सर्वाधिक १९ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका प्रहार गरेका थिए ।

पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि इक्रम अली खिलले शतकीय इनिङ खेले । उनले ११३ बलमा १ सय ७ रन बनाए । आफ्नो शतकीय इनिङमा इक्रमले दश चौका र दुई छक्का प्रहार गरे । ओपनर रहमानुल्लाह र इब्राहिम जार्दानले पहिलो विकेटका लागि १ सय ८ बलमा ६१ रनको साझेदारी गरेका थिए । रहमानुल्लाहले ५३ बलमा ४० रन बनाए । उनले पाँच चौका र एक छक्का ठोके । जार्दानले ७६ बलमा ३६ रन बटुले । उनले समान एक चौका र छक्का प्रहार गरे ।

चौथोपटकको यात्रामा नेपालको प्रदर्शन ऐतिहासिक रह्यो । नेपालले साबिक तीनपटकको विजेता भारतसँग मात्र सनसनी जित निकालेन, पहिलोपटक सेमिफाइनल स्थान नै पक्का ग¥यो । सेमिफाइनलमा अफगानिस्तानसँग नराम्रोसँग पराजित हुँदै नेपालको यात्रा फाइनलसम्म पुग्न सकेन । प्रतियोगितामा नेपालका केही खेलाडीका व्यक्तिगत प्रदर्शन शीर्ष दशभित्र समावेश छ ।
कप्तान दीपेन्द्रसिंह ऐरी बढी रन बनाउने ब्याट्सम्यान सूचीको नवौँ स्थानमा रहे । उनले चार खेलमा ८८ सर्वाधिक रनको सहयोगमा १ सय १८ रन बनाए । यसक्रममा उनले आठ चौका र चार छक्का प्रहार गरे ।

यता व्यक्तिगत रनमा पनि दीपेन्द्र शीर्ष दशभित्रै रहे । भारतविरुद्धको ऐतिहासिक प्रदर्शनमा उनले ८८ रन बनाएका थिए । दीपेन्द्रको व्यक्तिगत रन आठौँ स्थानमा सीमित भयो । बंगलादेशका मोहम रिडोयले व्यक्तिगत १ सय २० रन बनाउँदै शीर्ष स्थानमा छन् । यता प्रतियोगिताकै उत्कृष्ट स्ट्राइकमा नेपालका अनिककुमार शाह ११औँ स्थानमा छन् । उनले चार खेलमा ९५.२८ को स्ट्राइकमा ब्याटिङ गरे । शाहले १२ चौका र पाँच छक्का प्रहार गरे । एकै खेलमा बढी स्ट्राइक खेल्ने ब्याट्सम्यानमा अनिल दोस्रो स्थानमा छन् । उनले मलेसियाविरुद्ध १७८.५७ को स्ट्राइकमा ब्याटिङ गरेका थिए ।

Loading...