प्रहरीले गाउँ घेराहालेपछि कैलालीमा प्रहरी र स्थानीयबीच झडप

धनगढी, ३० कार्तिक । कैलालीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । प्रहरीले गाउँलाई नै घेरा हालेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्न खोजेपछि स्थानीयले बिरोध गरेका थिए, त्यसपछि झडप भएको हो ।

गाउँलाई घेराबन्दी गरी स्थानीयका घरमा प्रवेश गर्दा जनताहरुले प्रतिकार गरेका थिए । झडपमा परी केही प्रहरी र केही स्थानीय युवा घाइते भएका छन् । झडपपछि प्रहरीले नेकपाका २ नेतालाई गिरफ्तार गरेको सेती ब्युरो कार्यालय सचिव डबलबहादुर शाहले जानकारी दिएका छन् । शाहका अनुसार पार्टीका कैलाली इन्चार्ज रामबहादुर चौधरी ‘माहान’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

बुधबार साँझ ७ बजे मनिकापुर हसुलियामा स्थानीयको घरमा बसिरहेका चौधरीसँगै प्रहरीले सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पनि गिरफ्तार गरेको छ। यसअघि नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरी र कैलाली अध्यक्ष तपेन्द्र रसाइलीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा सुरक्षा निकायलाई नेकपा नेता-कार्यकर्तालाई गिरफ्तार गर्न निर्देशन दिएसँगै प्रहरीले गिरफ्तार र धरपकड बढाएको छ ।

Loading...