आयोगमा अनसनरत बिद्यार्थीलाई ठूला संगठनको साथ्, के होला अस्थाई शिक्षकको स्थाई हुने आश

भक्तपुर । शिक्षक विज्ञापन खारेजीको माग राख्दै विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई तीन विद्यार्थी संगठनहरुले समर्थन गरेका छन् ।

 

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विद्यार्थीहरुले शुरु गरेको आन्दोलनलाई समर्थन जनाउँदै उनीहरुको माग पुरा गर्न नेपाल सरकार र शिक्षा मन्त्रालयसँग माग गरेका हुन् ।

 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको संयुक्त बैठकले सो माग गरेको हो ।

शिक्षक विज्ञापन खारेजीको माग राख्दै त्रिभुवन विश्व विद्यालय र महेन्द्र रत्न ताहाचलका विद्यार्थीहरु केही दिनदेखि शिक्षक सेवा आयोगको गेटमा रिले अनसन बस्दै आएका छन् ।

तीन विद्यार्थी संगठनहरुले  विद्यार्थीको रिले अनसनमा एक्यवद्धता जनाउँदै जारी गरेको प्रेस विज्ञप्तिमा नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

”शिक्षा ऐन नवौं संशोधनका बिरुद्ध आन्दोलनरत शिक्षा शास्तका विद्यार्थीहरुको आन्दोलनमा एक्यवद्धता जाहेर गर्दछौं । साथै, आन्दोलनरत विद्यार्थीको मागलाई वार्ताको माध्यमबाट यथासिघ्र सम्बोधन गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।” विज्ञप्तिमा भनिएको छ ।

अस्थायी शिक्षकहरुका लागि भएको विज्ञापन खारेज गर्न दिएको २४ घण्टे अल्टिमेटम भित्र विज्ञापन खारेज नभएपछि विद्यार्थीहरुले आइतबार बिहानै शिक्षक सेवा आयोगमा तालावन्दी गरेका थिए । शिक्षक सेवा आयोगले केही घण्टामैे प्रहरी प्रशासनको सहयोगमा ताला फोडे पछि विद्यार्थीहरु आयोग घेराउ गर्न पुगेका थिए । आयोग परिसरमा व्यापक प्रहरी परिचालन भएपछि केहीबेर विद्यार्थी र प्रहरी बीच धक्कामुक्की समेत भएको थियो ।

विद्यार्थीहरुको पुन: ताला लगाउने कोसिस प्रहरीले असफल पारेपछि उनीहरु आयोग गेटमै रिले अनशनमा बसेका हुन् । तीनजना अस्थायी शिक्षकहरु अनशन बस्दा ऐन संशोधन गरेको सरकारलाई २० जना विद्यार्थी अनसन बसेर ऐनको नवों संशोधन फिर्ता गराउन लगाउने उनीहरुले बताएका छन

Loading...