प्राडा पोखरेलले पाए ‘ज्यो हरिप्रसाद अभिनव’ पुरस्कार

काठमाडौँ, २६ कार्तिक । विसं २०७४ को ‘ज्योतिषी हरिप्रसाद घिमिरे अभिनव’ पुरस्कार भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेललाई प्रदान गरिएको छ ।

अभिनव साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ एवम् ज्यो घिमिरेको ९५ औँ जन्मजयन्तीका अवसरमा आज जोरपाटीमा आयोजना गरेको १८९ औँ शृङ्खलाको साहित्यिक कार्यक्रममा भाषाविद् प्रा डा चूडामणि बन्धुले पोखरेललाई रु २० हजार, दोसल्ला र ताम्रपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा डा बन्धुले ६० देशका भाषा अध्ययन गर्नुभएका व्यक्तित्वलाई पुरस्कार दिन पाउनु सौभाग्यको विषय भएको बताए । सो अवसरमा दर्शनशास्त्री विष्णु प्रभातले सम्मानित पोखरेलको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारे ।

कार्यक्रममा पूर्वसांसद एवम् काठमाडौँ ३ नं क्षेत्रको प्रदेशसभा (ख) का वाम गठबन्धन उम्मेदवार रामेश्वर फुयाँल, समाजका अध्यक्ष गोविन्दप्रसाद वेदमणि, डा शेषराज आचार्यलगायतले नेपाली भाषासाहित्यको विकासमा सरकारको उचित ध्यान जान नसकेको बताए ।

समाजले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने साहित्यिक शृङ्खलाका क्रममा अनन्त अर्याल, प्रकाश गफाडी, शान्ति रिसाललगायत ३२ कविले आआफ्ना रचना पाठ गरे । समाजले रु तीन लाखको अक्षय कोष स्थापना गरी प्रत्येक वर्ष कार्तिकमा सो पुरस्कार वितरण गर्ने गरेको छ ।

अक्षय कोषका लागि समाजका अध्यक्ष एवम् स्व हरिप्रसादका सुपुत्र वेदमणिले रु दुई लाख र रु एक लाख अन्य दाताबाट जुटाइएको हो । स्व हरिप्रसाद काठमाडौँको पूर्वोत्तर भेगकै प्रतिष्ठित ज्योतिषी हुन् ।

Loading...