महानगरका प्रमुख भन्छन, काठमाडौँको कलासंस्कृतिको संरक्षण सम्वद्र्धन मेरो पहिलो प्राथमिकता

काठमाडौँ, २६ कार्तिक । शाक्य फाउण्डेशन नेपालले आज यहाँ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई सम्मान गरेको छ ।

नेपाल संवत् ११३८ का उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्नेसमेत उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रमुख शाक्यले काठमाडौँको कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै यहाँका ‘बहाः बही’ का रुपमा चिनिने महाविहारको जीर्णोद्धारका योजना र बजेट विनियोजन गर्ने काम भइसकेको जानकारी दिए ।

विगतमा सम्पन्न हुन नसकेका विकासनिर्माणका काम फत्ते गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आइपरेको बताउँदै उनले भने, “नीति र योजना तर्जुमा गरेको छु तर काम गर्ने अनुकूल वातावरण बनेको छैन ।” उनले महानगरका लागि खानेपानीको पाइप बिछ्याउने, बिजुलीको तार जमिनमुनिबाट राख्ने कामका साथै रु एक अर्ब लागतको सडक सुधारका काम शुरु गरिएको जानकारी दिँदै परिणाम देख्नका लागि केही समय धैर्य गर्न महानगरवासीसँग आग्रह गरे ।

फाउण्डेशनका उपाध्यक्ष राजकाजी शाक्यले नेपाल संवत्का प्रवत्र्तक शंखधर साख्वाःबारे व्यापक अध्ययन र अनुसन्धानको काम हुनुपर्ने बताए । फाउण्डेशनका सल्लाहकार देवकाजी शाक्यले नेपाल संवत् मुलुककै मौलिक संवत् र राष्ट्रिय विभूति शंखधर यसका प्रवर्तक भएको सन्देश देशको कुनाकाप्चामा पु¥याउनुपर्ने औँल्याए । न्हू दँ राष्ट्रिय समारोह समितिका सुजीव बज्राचार्यले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा नेपाल संवत्लाई प्रयोगमा ल्याउने प्रतिबद्धता जनाउने र आप्रवासनको समस्या समाधान गर्न अठोट व्यक्त गर्ने उम्मेदवारलाई जिताएर पठाउनुपर्ने विचार व्यक्त गरे ।

फाउण्डेशनका अध्यक्ष अमीरमान शाक्यको अध्यक्षतामा भएको उक्त समारोहमा १६ बही सर्वसंंघका मूल थकाली अष्टमान शाक्य र कीर्तिपुण्य महाविहार लगः बहाःका स्थवीर ज्ञानमान शाक्यलाई मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो । त्यसैगरी फाउण्डेशनको आजीवन सदस्य रही विभिन्न महाविहार र संघसंस्थाको नेतृत्वमा रहेर शाक्य समुदाय र बुद्धधर्मको प्रवद्र्धनमा योगदान पु¥याइआएका महानुभावलाई पनि सम्मान गरिएको थियो ।

Loading...