कार्तिक नाच सम्रक्षणका लागि वडाबाटै १० लाख सहयोग , बराह र नरसिंहको नयाँ मुकुट प्रदान

ललितपुर । ललितपुरको प्रशिद्द एतिहासिक पौराणिक कार्तिक नाच सम्रक्षण तथा सहयोग स्वरुप ललितपुर महानगरपालिका -१६ वडाले अक्षय कोषको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ ।
वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनु अघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो । बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेको नयाँ मुकुट तयार पारिएको हो ।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो। सो अवसरमा वडाअध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच चिरस्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रुपैयाँ प्रदान गरिएको बताउनुभयो । सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाअध्यक्ष शाक्यले ती संस्कृतिको पुनःजीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धता अनुरुप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरुको उत्साह बढाई दिएको समितिका अध्यक्ष चित्रकारले बताउनुभयो । ‘संस्कृति संरक्षण गर्नु धेरै गा¥हो छ । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ । संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ ।’ अध्यक्ष चित्रकारले भन्नुभयो । मुकुट हस्तान्तरणपछि बराले नयाँ मुकुट लगाएर वराह नाच प्रस्तुत गरेको थियो । बराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचारसंयोजक सञ्जयशर्मा राजोपाध्यायले बताउनुभयो ।
राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच ललितपुरको पाटन दरबारस्थित कार्तिक डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा प्रदशन गर्ने गरिन्छ।

राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको यो नाचलाई संसारकै लामो नाट्य परम्पराको रुपमा लिने गरिन्छ । सिद्धिनरसिंह मल्लले कृष्णलीलामा आधारित नाचहरु प्रदर्शन गरी एक साता चलाएको र उनका छोरा श्रीनिवास मल्लले लोक नाटकहरु थपेर १५ दिन र्पुयाएको बताइन्छ । श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले शास्त्रीय नाचहरु थपी एक महिना सम्म प्रदर्शन गर्ने परम्परा बसालेको इतिहासमा उल्लेख छ । 

प्रत्येक दिन कार्तिक नाचमा नृसिंह अवतार, हिरण्यकश्यपु वध, वराह अवतार, बौद्ध अवतारलगायत धार्मिकग्रन्थका पात्रहरू प्रस्तुत गरिन्छ । कार्तिक नाच प्रवन्ध समितिले जनाएअनुसार, बाःथ प्याखँ, कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिन्छ ।
यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने छ। कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो । यस सांस्कृतिक उत्सव यसपालि शुक्रवार र शनिवार गरेर दुई दिनमात्र चल्ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ। निश्चित ब्यक्तिहरुको न्यून उपस्थितिर सुरक्षा बीच यस पालि योनाच देखिएको हो।  
शनिबार राति नरसिहं अवतार देखाउँदै कार्तिक नाच समापन गरिने छ ।

 

Loading...