नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडौं, ८ मंसिर । सत्तारुढ दलभित्रको अन्तरसंघर्ष चर्किरहेका बेला नेपालस्थित चिनियाँ राजदुतले सो पार्टीका नेताहरुसँग भेटवार्ता बढाएकी छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन् ।

भेटमा नेकपाभित्रको विवादका विषयमा पनि कुराकानी भएको स्रोतको दावी छ । तर, त्यसविषयमा प्रचण्डको सचिवालयले केही बताएको छैन ।

राजदूत यान्छीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए ।

बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ राजदुतले भेट्न आउन लागेको जानकारी गराएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन् ।

Loading...