खुल्ला मञ्चमा खुवाइदै आएको निशुल्क खाना अब थापाथली प्रसुति गृह नजिकै खुवाइने

   

  काठमाडौँँ । खुल्ला मञ्चमा खुवाइदै आएको निशुल्क खाना अब थापाथली प्रसुति गृह नजिकै ब्यबस्थापन गरि खुवाउने भएको छ। काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगि खानाको व्यवस्था गरेको जानकारी दिए ।
सापटकोटाले अहिले पनि खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भैरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भैरहेको बताए।


काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ ।  खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच जनाको उद्दार गरेको जानकारी पनि सापकोटाले दिएका छन्  ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड वढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।

 

Loading...