एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण

काठमाण्डाै । विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १३ लाखभन्दा धेरैको ज्यान गएको छ । चीनको वुहानबाट गएकाे वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ८ हजार बढीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट विश्वभर गरी ५ करोड ३७ लाख व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ७५ लाख कोरोना मुक्त भएका वल्ड्रोमिटरकाे तथ्याङ्क छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये २ लाख ४९ हजारको ज्यान गएको छ । अमेरिकामा पछिल्लो तथ्याङ्कअनुसार ६७ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।

Loading...