क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरबाट तीस लाख सहयोग

काठमाडौँको भित्रि पुरानो सहरका नागरिकलाई भरपर्दो र लामो समय देखी स्वास्थ्य सेवा दिदै आएको क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ ।
२०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले ‘कोर–सिटी’ का करीब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ मा रु पाँच करोड बजेट विनियोजन गरेको स्मरण गराउनुभयो ।

डा श्रेष्ठले करीब ३५ करोडको लगानीमा अत्याधुनिक भवन निर्माणको तयारीमा चिकित्सालय जुटिरहेको भन्दै सो भवन निर्माणका लागि पनि महानगरपालिकाले पाँच करोड सहयोगको प्रतिवद्धता व्यक्त गर्दा आफुहरु थप उत्साहित भएको जानकारी दिनुभयो । ‘हामी अहिले काठमाडौँ महानगरपालिका र जनसहभागितामा चिकित्सालयको अर्को अत्याधुनिक भवन निर्माण तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘सो भवन निर्माणपछि हामी कोर–सिटी’ का नागरिकलाई अत्याधुनिक भवनबाट उच्चस्तरीय सेवा दिन सक्ने हैसियतमा पुग्ने छौँ । त्यो महानगवासीका लागि पनि गौरवको विषय हुनेछ ।’ उहाँले अहिले चिकित्सालयबाट मुटु, स्वासप्रश्वास, दन्त सेवालगायतका विशेषज्ञ स्वास्थ सेवा दिइरहेको पनि जानकारी दिनुभयो ।

Loading...