काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले गरे ‘प्लाज्मा दान’ गर्न अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ ।
केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न अपिल गर्नुभएको हो ।
‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भन्नुभयो ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’ 


कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिनुभयो ।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहनु भएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षिया महिलाको उपचार भैरहेको छ ।

महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रोत्साहन दिन फलफुल, मास्क, आर्योवेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको मेयर शाक्यले जानकारी दिनुभयो ।

Loading...