अचेल मलाई फूलहरुसँग रिस उठ्छ

मलाई अचेल,
फूलहरुसँग रिस उठ्छ
अर्थात बगैचाका फूलहरुसंग
किनकि,
मान्छे देख्नै हुँदैन
मुस्कुराईदिन्छन
बेमतलव ।।
के काम छ र यी फूलहरूको
न त भोक टर्छ
न न्यानो दिन्छन फूलहरुले
घरदेखी परसम्म,
मन्दिरदेखी मसानसम्म
पिछा नछाड्ने फूलहरू
कोरोना भाईरस जस्तै छन
हेर्दै भयानक र डरलाग्दा ।।
फूलहरूले त,
सुवास दिनु पर्ने हो
खुसीमा मुस्कुराउनु पर्ने हो
दुखमा साथ दिनु पर्ने हो
सधै सधै एकनास
ङिच्च दाँत देखाउनु मात्र छ
समय अनुसार,
परिस्थिति अनुसार
बदलिन नजान्ने
यथास्थितिवादी र जडसुत्रवादी
फूलहरू देखेर होला
साँच्चै मलाई
फूलहरूसंग रिस उठ्छ ।।
यी फूलहरु नि,
सडकका शालिकहरू जस्तै हुन
सजाएर राखेका
घाम, हावा, हुरी र पानी सहेरै
ठिङ्ग उभिमात्र रहने,
न त बोल्छन
न प्रतिक्रिया देखाउँछन
न छुट्टाउनेै सक्छन राम्रो नराम्रो
खाली हेरी रहन्छन एकोहोरो
र जिस्काईरहन्छन सबैलाई
यी शालिक जस्तै जस्तै
फूलहरूको संगत भएर होला
अचेल मलाई,
फूलहरूसँग रिस उठ्छ।।
मन नपरी नपरी,
कति दिन र किन ?
बचाउने हो यी फूलहरूलाई
बगैचामा राखेर,
गमलामा राखेर,
क्वारेन्टीनमा राखेर,
आईसोलेसन र भेन्टीलेटरमा राखेर
यी बिना कामका फूलहरूलाई ।।

Loading...