नेपाली शेर्पाको टोलीले गर्यो बरुन्त्से हिमालको सफल आरोहण

काठमाडौं, ३० असोज । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ ।

पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।

खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो । आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो ।

जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो ।

यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो । बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

Loading...