रामेलु लुकाकुको दुई गोलले बेल्जियम शिर्ष स्थानमा

बेल्जियमले नेशन्स लिगमा आइसल्याण्डमाथि सहज जित निकाली समूहको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा बेल्जियमका लागि दुवै गोल रामेलु लुकाकुले गरेका हुन् । उनले नवौँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।

१७ औँ मिनेटमा बिरकिर साइभार्सनले आइसल्याण्डका लागि बराबरी गोल गरे । तर ३८ औँ मिनेटमा पाएको पेनाल्टीमा लुकाकुले गोल गरी पुनः बेल्जियमलाई अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र बेल्जिम २–१ ले विजयी भयो । जित निकालेको लुकाकुको टिम चार खेलबाट ९ अंकसहित समूह ए टू को शीर्ष स्थानमा पुगेको छ ।

समान सात अंक भएका डेनमार्क र इंग्ल्याण्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आइसल्याण्डले अहिलेसम्म कुनै पनि खेल जित्न वा बराबरी गर्न सकेको छैन ।

Loading...