लिमीमा पुग्ने भयो तीन सय क्वीन्टल चामल

हुम्ला । हिमालपारीको गाउँ हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ लिमीको तीन गाउँमा नेपाल खाद्य तथा ब्यापार कम्पनी लिमिटेड, हुम्लाले तत्काल तीन सय क्वीन्टल चामल दिने भएको छ । यसबाट डेलिगेसनमा आएका लिमी गाउँका बासिन्दाहरू खुशी भएका छन् ।

कोरोना महामारीले उत्तरी नाका हिल्छा र लाप्चाबाट लिमी गाउँमा बन्दोबस्तीमा सामानहरू आपूर्ति गर्न गराउन समस्या भएपछि स्थानीयहरू चिन्तित बनेका थिए । हिउँदको ६ महिना अब के गर्ने भन्ने छटपटीमा थिए वडा अध्यक्ष पाल्जोर लामा ।

उनले भने अब हामीलाई सरकारले हेरेन भने भोकै मर्नु बाहेक अरु उपाय छैन भन्दै एक हप्तादेखि सिमकोटका सरोकारवाला निकाय र विभिन्न राजनीतिक दलहहरूसँग भेटघाटमा व्यस्त थिए ।

गत सालको मंसिर महिनादेखि बन्द भएको नाका ११ महिनासम्म पनि नखुल्दा सबै प्रकारका बन्दोबस्तीमा सामानका लागि पुराङसँग सम्पर्क गरेर केही दर्जन मालवाहक ट्क ल्याउने तयारी भए पनि उत्तरी सीमाका बारेमा स्थानीय प्रशासनका पदाधिकारी र राजनीतिक दलहरूले साँचो हो वा हल्लाखल्ला गर्दा उक्त सामानहरू ल्याउन समस्या भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

उनले भने साँच्चै के हो त समस्या भनेर हामीले संघीय सांसद छक्कबहादुर लामालाई लिएर स्थलगत अध्ययन गरेर काठमाडौंका सम्बन्धित तालुकवालाहरूसँग सल्लाह, परामर्श र जानकारी दिनु गएका छौं । पहिलो चरणमा नाम्खा गाउँपालिकाका लागि तीनदेखि पाँच हजार क्वीन्टल चामलको कोटा स्वीकृत हुने प्रक्रिया अघि बढे पनि तत्काल लिमीको तीन गाउँका लागि तीन सय क्वीन्टल चामल दिने परिपत्र जिल्लामा पठाई सकिएको छ । यो चामललाई सकभर गाडीबाट लिने व्यवस्था गरिनेछ भएन भने हवाई ढुवानी समेत गर्ने तयारी भएकोे छ ।

राष्ट्यि सडक सञ्जालमा नजोडिएको हुम्ला र त्यसमा पनि हुम्लाको विकट गाउँ लिमीका लागि राष्ट् र यसका मातहतका विभिन्न निकायहरू अति संवेदनशील भएकाले हामीले जिल्लाको मौज्दात कोटाबाट तीन सय क्वीन्टल चामल उपलब्ध गराउने व्यवस्था मिलाउने परिपत्र ल्याएका छौं सांसद छक्कबहादुर लामाले जानकारी दिएका छन् ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका शाखा प्रमुख रामबहादुर विष्टका अनुसार हामी लिमीका लागि चामल दिने तयारीमा थियौं तर के, कसरी र कति मात्रामा दिने भन्ने कुरा तय भए पनि माथिको ग्रीन सिग्नलको प्रतिक्षामा थियौं । अब परिपत्र हुँदा तत्काल तीन सय क्वीन्टल चामल उपलब्ध गराउने छौं ।

खाद्यान्न लगायत विभिन्न प्रकारका कामका लागि सिमकोट पुगेको लिमी तीन गाउँका महिला पुरुषहरू खुशी भएका छन् । अब ६ महिनाका लागि हामीलाई जीउने बाटो खुल्यो वडा सदस्य मीगुर तामांगले खुशी व्यक्त गरे ।

कात्र्तिक महिनाभित्र हामी जे जसरी हुुन्छ लिमीमा चामल पुगाउने छौं प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीको भनाई रहेको छ । पछिल्लो समय केही मात्रामा भए पनि राज्यले आफ्ना नागरिकको आवाज सुनेको महसुस हुनेछ । अब हामी सकभर गाडीबाट र नभए हवाई मार्गबाट भए पनि तत्काल चामल पठाउने व्यवस्था गर्र्दैछौं ।

आफ्नो गाउँमा चामलको जोहो गर्न आएका लिमीका वडा अध्यक्ष पाल्जोर तामांग लगायतका टिमले जिल्लाका सञ्चारकर्मी, राजनीतिक दलहरू, नागरिक समाज, सम्बन्धित कार्यालयका जिम्मेवार अधिकारीहरू र जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् । अब कात्र्तिक महिनाभित्रै तीन सय क्वीन्टिल चामल लिमी पुग्ने भएको छ । यसबाट लिमीबासीलाई हिउँदको लागि सहज हुने छ ।

 

Loading...