पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो ।

आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य आयोगको बोर्डबाट भएको बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा संसद् सचिवालयबाट सहसचिव र उपसचिव पद रिक्त संख्या प्राप्त भएको बताए ।

आयोगले हरेक वर्ष असोज अन्तिम बुधबारदेखि विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म रहन्छ । जसअनुसार आयोगले असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव पदमा तथा कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक पदमा विज्ञापन आह्वान गर्ने गरेको छ ।

यसैगरी मंसिरको अन्तिम बुधबार शाखा अधिकृत पदमा विज्ञापन आह्वान गर्ने गरेको छ । असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई विज्ञापन खुलाउन आग्रह गर्ने निणर्य गरेको थियो ।

आयोगले यस वर्ष ३ देखि ४ हजार पदमा संघका लागि विज्ञापन खुलाउँदै छ । आयोगले विज्ञापन खुलाउनुअघि संघीय मामिला मन्त्रालयले रिक्त पदको विवरण पठाउने गर्छ ।

Loading...