कृषिमा आत्मनिर्भर बन्न इजरायलसँग एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स र श्रम सम्झौतामा हस्ताक्षर

 

काठमाडौँ । नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिनुभयो । सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गर्नुभएको छ ।
ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । मसाभ इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था हो ।
नेपालको तर्फबाट हस्ताक्षर गर्न असोज ११ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई अनुमति दिइसकेको थियो ।
गत मंसिरमा राजदूत शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो । पाँच दिनको नेपाल बसाइपछि स्वदेश फर्किएको सो टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीलगायतसँग भेट गरेको थियो ।
विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै यो विषयमा निरन्तर पहल गरेको र आज सफलता प्राप्त गरेको जानकारी दिनुभएको छ ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने शाक्यको भनाई छ । ‘कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धी हो,’ राजदूत शाक्यले भन्नुभयो, ‘यो सम्झौतासँगै अब स्वदेश र विदेश दुबैमा नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुनेछन् भने नेपाललाई कृषिमा आत्मनिर्भर हुन यो प्रविधि हस्तान्तरले ठूलो योगदान दिने अपेक्षा छ ।’
उहाँले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरेको जानकारी दिनुभयो ।
त्यसैगरी बुधबार नै नेपाल र ईजरायलबीच ‘ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा हस्ताक्षर सम्पन्न भएकोपनि राजदूत शाक्यले जानकारी दिनुभयो । सो सम्झौतामा पनि नेपालको तर्फबाट ईजरायलका लागि नेपाली शाक्य र ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री गावी अस्केनाजीको हस्ताक्षर रहेको छ । योसँगै अब ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।
दूतावासले कार्यान्वयन चरणमा गए लगत्तै प्रत्येक क्षेत्रका लागि श्रमिक भर्नाको प्रक्रिया सुरु हुने पनि जानकारी दिएको छ । त्यसका लागि पनि छिट्टै सम्झौता हुने दूतावासले जानकारी दिएको छ ।
 राजदूत शाक्यले नेपाल र ईजरायलबीच उच्चस्तरीय भ्रमण तथा सीधा हवाई उडानको आवश्यकता औंल्याउनुभएको थियो । उहाँले दक्ष तथा अर्ददक्ष नेपाली श्रमिकहरुका लागि ईजरायलको कृषि, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न आग्रह गर्नुभएको थियो।त्यसैगरी उहाँले विभिन्न विधामा विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड भएको थियो ।

Loading...