लकडाउनमा पनि बन्द भएनन हुम्लाका यी दुई विद्यालय

हुम्ला । हुम्ला नाम्खा गाउँपालिका वडां ६ लिमी गाउँमा सञ्चालित दुई विद्यालय बन्दाबन्दीको समयमा पनि नियमित सञ्चालनमा आएका छन् ।
हिमालपारीको गाउँ जो नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ ।

सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको जानकारी दिएका छन् ।

सुनखानी प्राथमिक विद्यालयमा नेपाली पाठ्यपुस्तकसहित तिब्बतियन भाषाको पनि पढाइ हुने गरेको छ । यो विद्यालयमा हाल ४५ विद्यार्थीले नियमित पठनपाठन गर्दै आएका छन्। अर्को गाउँ जाङको भृकुटी प्राविमा पनि पठनपाठन चलिरहेको छ । यी दुबै विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरु विद्यालयमा नपुगे पनि स्थानीय करार शिक्षकहरुले नियमित पठनपाठन गराइरहेको वडा अध्यक्ष पाल्जोर तामांगले बताएका छन् ।

यी विद्यालयहरुमा अभिभावकहरुको सहयोगमा बिहानको खाना र दिउँसोको खाजा विद्यालय मै व्यवस्था गरिएको छ ।

वडा नं ६का अध्यक्ष तामाङका अनुसार लिमी क्षेत्रमा बन्दाबन्दीको कुनै प्रभाव नरहेको र अन्यत्रका मानिस कोही पनि आउन नपाउने स्थानीयको नियमले गर्दा पठनपाठन भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले विद्यालय सञ्चालन बारे कुनै जानकारी नभएको बताएका छन् ।

यहाँ पुग्ने सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रामा पुगीन्छ भने न्यालु र नारा जस्ता पाँच हजार मीटरभन्दा अग्ला हिमाल काटेर जानुपर्छ ।

Loading...