जग्गा मुद्दामा साछी बसेको भन्दै एक दम्पतिमाथि सांघातिक आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

रौतहट, १० असोज । रौतहटमा जग्गा विवादको मुद्दामा साछी बसेको भन्दै एक महिलाको हत्या गरिएको छ । साथै आक्रमणमा परी मृतक महिलाका श्रीमान गम्भीर घाइते भएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको हो । देवाही गोनाही नगरपालिका वार्ड नं. ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि एक समूहले आक्रमण गरेको रौतहट प्रहरीले जनाएको छ ।

चार जनाको समूहले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारको लागी वीरगञ्ज लगिएको थियो । उपचारमा लग्दै गर्दा जगरामीको मृत्यु भएको र महेशको अवस्था गम्भीर रहेको बताइएको छ ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई शुक्रबार साँझ देवाही गोनाही(५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । तीनै जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

Loading...