चिनियाँ जलक्षेत्रनजिक पुगेका बेला अमेरिकी जासुसी विमानले हेक्सकोड बदल्यो

एजेन्सी । एउटा अमेरिकी जासुसी विमानले फिलिपिन्सको विमानजस्तो देखिनेगरी आफ्नो हेक्स कोड परिवर्तन गरेको छ। बेइजिङस्थित साउथ चाइना सी स्ट्रटेजिक सिचुएसन प्रोबिङ इनिसियटिभ र एयरक्राफ्ट स्पट्स नामक संस्थाका अनुसार सो विमानले पित सागरमाथि उडिरहेको बेला हेक्स कोड परिवर्तन गरेको हो।

इन्टरनेसनल सिभिल एभियसन अर्गजनाइजेसनले सबै विमानलाई परिचयका रुपमा हेक्स कोड दिने गर्छ। जसलाई बदल्न पाइँदैन। तर, अमेरिकी जासुसी विमान आरसी–१३५एसले चिनियाँ जलक्षेत्रनजिक पुगेर फिलिपिन्सको विमानलाई दिइएको हेक्स कोड देखाएको थियो।

गत साता पनि एउटा अमेरिकी जासुसी विमानले चिनियाँ हवाई क्षेत्रनजिक पुगेपछि हेक्स कोडा परिवर्तन गरी आफूलाई मलेसियन विमानका रुपमा चिनाएको थियो।

चिनियाँ विदेश मन्त्रलयका अनुसार अमेरिकी सेनाले यो वर्ष एक सय पटक भन्दा बढी यस्तो चाल चलिसकेको छ। तर, अमेरिकी वायु सेनाका एक प्रवक्ताले आफूहरुले नियम उल्लंघन नगरेको दाबी गरे। यसले यात्रुवाहक विमानहरुलाई जोखिममा पार्ने बेइजिङको भनाइ छ।

सन् १९८३ मा सोभियत संघले आफ्नो आकाशमा देखिएको एउटा विमानलाई अमेरिकी जासुसी विमान भनी खसाउँदा कोरियन एयरलाइन्सका २६९ जनाको ज्यान गएको थियो।

Loading...