नेपाल-चीनका बीच हराएको भनिएको ११ नम्बर सीमास्तम्भ भेटियो

हुम्ला । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । लामो समयदेखि हराएको भनिएको उक्त पिलर हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार भेटाएकाे हाे ।

११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । उनले पिलर खाेज्दै जाँदा हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको बताए ।

यसअघि उक्त पिलर हराएकाे र लाप्चामा चीनले ९ वटा घर नेपाली भूमीमा बनाएकाे समाचार आएका थिए । अब ११ नम्बर सीमास्तम्भ भेटिएपछि रेखांकन गर्न सहज हुने बताइएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले यसले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्ने बताए ।

भेटिएकाे सीमास्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।

Loading...