सरकारविरुद्ध पशुपतिमा ठूलो प्रदर्शनको तयारी, व्यापक प्रहरी परिचालन

काठमाडौं । पशुपतिनाथ मन्दिरको मूलढोका अगाडि आज ठूलो जनसमूह जम्मा हुन लागेको छ । पशुपतिनाथको ढोका खोलेर भक्तजनहरुले पुजापाठ गर्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध यो प्रदर्शन गरिएको बताइएको छ ।

भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गरी सबैलाई आजको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । उनले यो संयुक्त धार्मिक सामाजिक संघसंगठनहरुको पहलमा प्रदर्शन हुन लागेको जानकारी दिएका छन् । पशुपतिनाथसहित सबै देवदेवीहरुको मन्दिर खुलाइ दर्शन र पुजा आराधना गर्न पाउनुपर्ने भन्दै त्यसका लागि सरकारलाई दवाव दिन यो प्रदर्शन गरिएको पनि बताएका छन् । उनले बुधवार आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेख्दै भनेका थिए, राष्ट्रियदेव भगवान श्री पशुपतिनाथ लगायत देशभरका धार्मिक स्थलहरु मठ, मन्दिर, स्तुपा हरु सबै भक्तजनहरुको दर्शन र पुजा गर्न पाउनुपर्ने मौलिक अधिकार दिलाउन सबै धार्मिक र सामाजिक संघ संस्थाहरु को एकब्ध्दता सहितको आयोजनामा यहि असोज १ गते बिहान ८ः०० बजे पशुपति प्राङ्गणमा शान्तिपुर्ण धर्ना र बिरोध सभा मा सहभागी होऔं । भण्डारी पशुपतिनाथ मन्दिरका पुजारी समेत भएकाे बताइएकाे छ । आजको प्रदर्शनका लागि बुधवारदेखि नै सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गरिएको थियो ।

यसैबीच बिहानैदेखि पशुपतिमा मानिसहरु जम्मा हुन थालेपछि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । 

अपडेट

भण्डारी समाजका अध्यक्ष एवं मन्दिरका पुजारी केदार मान भण्डारीले आफूहरुमाथि सरकारले दमन गर्न लगाएकाे बताएका छन् । आज आफूहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने तयारी गरेकाे र त्यसका लागि बिहानै भजनकाे तयारी भइरहँदा प्रहरीले हस्तक्षेप गरेकाे उनले बताए । उनले सरकारले यसरी धार्मिक आस्थामाथि प्रहार गरेर गल्ती गरेकाे पनि बताएका छन् । 

Loading...