जापानमा कर्णालीबासीहरु संगठित, अध्यक्षमा कृष्ण शाही

टोकियो । कर्णाली प्रदेशबाट जापानमा बिभिन्न राेजगारी तथा अध्ययनका लागि बसाेवास गरिरहेकाहरु संगठित भएका छन् । जापानमा बसाेवास गर्ने नेपालीहरुका विभिन्न क्षेत्रीय संगठनहरु छन । तर, अहिलेसम्म कर्णालीवासीहरुकाे संगठन बन्न सकेकाे थिएन ।

आइतवार एक भर्चुअल भेला गरी कर्णाली प्रदेश समाज जापानकाे गठन भएकाे हाे । भेलाले कृष्ण शाहीकाे संयाेजकत्वमा कार्यसमिति गठन गरेकाे छ । कर्णाली प्रदेशका विभिन्न १० जिल्लाबाट जापान आई विभिन्न क्षेत्रमा संलग्न नेपालीहरुलाई गोलबन्द गरी प्रवासका समस्यालाई समाधान गर्ने तथा समग्र कर्णाली प्रदेशको उत्थानका लागि जापानबाट क्रियाशील रहने याे संगठनकाे मुख्य उद्देश्य रहेकाे संगठनका संयाेजक शाहीले बताएका छन् ।

शाहीकाे संयाेजकत्वमा गठित कर्णाली प्रदेश समाज जापानको कार्यकारी समितिको वरिष्ठ उपाध्यक्षमा बसन्त घर्ती मगर, उपाध्यक्षमा भीमप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा रञ्जिता बुढाथोकी, महासचिवमा केबी टमटा, चारजना सचिवमा क्रमशः माधव थापा, ईन्द्रजित अधिकारी, नारायण न्यौपाने र हरिश्चन्द्र उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा हिमप्रकाश थापा र सहकोषाध्यक्षमा महेन्द्र केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णु रोकाय, गौरीप्रसाद न्यौपाने, हरिबहादुर शाही, जुनकुमार रोकाय, कमल शाही, युवराज धमला, जीबन शाही, नवराज थापा, बीरेन्द्र शाही र सिर्जना रोकाय चयन भएका छन् ।

डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालीकोट, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र पश्चिम रुकुम गरी १० जिल्ला ओगटेको कर्णाली प्रदेशलाई आधार क्षेत्र मानेर त्यस क्षेत्रको समृद्धिका लागि जापानबाट संभावित योगदान पुर्‍याउन पहलकदमी गर्ने र सो क्षेत्रबाट जापान आएका नेपालीहरुबीच पारस्परिक भाइचारा, सहयोग तथा सम्बन्धलाई विस्तार गर्ने समाजको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष शाहीले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन शाष्त्रमा स्नातकोत्तर गरेका सुर्खेतबासी अध्यक्ष शाही २०१४ मा भाषा विद्यार्थीका रुपमा जापान पुगेका हुन् । हाल उनी एक जापानी कम्पनीमा कार्यरत छन् । संगठन निर्माणपछि अध्यक्ष शाहीले भने- ’भूगोलले दुरदराज मानिएको हामी कर्णालीबासीहरु पनि जापानमा अब जाग्नुपर्छ, आफ्नो माटोका लागि हाम्रो स्तरबाट हुन सक्ने सक्दो योगदानका लागि एकजुट हुनुपर्छ भन्ने मुलभूत मान्यताबाट हामी संस्थागतरुपमा एक भएका हौं, हाम्रो भावी कार्यक्रम तथा कार्ययोजना क्रमशः डेलिभरी गर्दै जानेछौं । समयको माग अनुसार कर्णालीबासी एक ठाउँमा गोलबन्द भएका हौ, यस बिशुद्ध सामाजिक संस्थामा जोडिनका लागि जापानमा रहनुभएका समस्त कर्णालीबासीहरुलाई हार्दिक अपिल गर्दछौं ।

Loading...