हुम्लामा ५० करोडको सिमी उत्पादन, बिक्री भने ४० प्रतिशत मात्र

हुम्ला । यसवर्ष हुम्लामा पचास करोडभन्दा धेरैको रैथाने सिमी उत्पादन भएको छ । यसबाट हुम्ली किसानहरूले वर्षेनी राम्रो आम्दानी गर्न सफल भएका छन् ।

नगदे बालीका रुपमा चिनिएको सिमीको ब्यापारले हुम्लाका किसानहरू पछिल्लो समयमा राम्रो आम्दानी दिने गरेको छ । दिनप्रति दिन यसको माग बढ्दै गए पनि उत्पादनमा विविधता र विकासे तरिका अपनाइएको छैन ।

हुम्लामा सिमीलाई नगद आम्दानी गर्ने माध्यम मात्र नभएर विभिन्न प्रकारका खानपानका परिकारहरू दाल, राइतो, कोल र खिच्चो लगायत बनाएर एकल र संयुक्त परिकारका रुपमा प्रयोग गर्ने गरिएको छ ।

हुम्लामा विभिन्न प्रकारका अगौटे र पछौटे जातका रैथाने सिमीहरूको खेती गर्ने चलन बढ्दै गएको सर्केगाड गापा उनपानी गाउँका कृषि प्राविधिक बलबहादुर फडेराले आफ्नो अनुभव सुनाए ।

हुम्लामा विभिन्न प्रकारका रैथाने सिमीका जातहरूका साथै अनेकौं प्रकारका विकासे जातहरू पनि ल्याइएको छ । यसबाट रैथाने जातहरूमा ब्रिडींग भएर विभिन्न प्रकारका क्र्सजातहरू पनि उत्पादन भएको कृषि प्राविधिकहरूले बताउने गरेका छन् ।

वर्षेनी कृषि विकास कार्यालयको आंकडालाई लेखाजोखा गर्दा प्रति वर्ष एक सय ७० हेक्टर जमिनमा सिमीको खेती गरिएको पाइन्छ । यसमा अझ घुसुवा बालीको क्षेत्रलाई जोड्दा अझ धेरै हुन आउँछ । यो सिमी खेतीको एकल क्षेत्रफललाई मात्र लेखाजोखा गर्दा हुम्लामा वर्षेनी २ सय ५० मे.टन सिमी उत्पादन हुने गरेको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झाले जानकारी दिएका छन् ।

पछिल्लो समय वातावरणमा फेरबदल हुँदा हुम्लामा पनि सिमी उत्पादन कहिले धेरै हुने र कहिले विभिन्न प्रकारका रोगहरूले दुःख दिने गरेको पनि छ । तर यसबारेमा किसान र जिम्मेवार निकायले खासै चासो देखाएका छैनन् । मात्र प्रायोजित बजेट वितरणका लागि हानथाप मात्र हुने गरेको सामाजिक अगुवा रमेश ऐडीको मत रहेको छ ।

हुम्लामा कालो, रातो, सेतो, पहेँलो, खैरो, निलो, आकासे, छिरबीरे लगायतका विभिन्न प्रकारका सिमीहरू फलाउने गरिएको छ । यी सिमीका जातहरूलाई अगौटे, पछौटे, दुई माँसे, सात माँसे, पाँच माँसेका साथै एकल र घुसुवा बालीका रुपमा परम्परागत रुपमा खेती गरिदैँ आएको छ ।

कृषि विकास कार्यालय हुम्लाले संघ, प्रदेश र स्थानीय तह लगायत धेरै गैससहरूले सिमीको विकास र विस्तारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरे गरिए पनि खासै प्रभावकारी हुन नसकेको सिमकोट २ ठेहेका अगुवा किसान गोरासिंह बोहराले आफ्नो दुःखेसो बताए ।

हुम्लाको स्थानीय बजारमा चलेको प्रति केजी २०० रुपैयाँको दरले हिसाब गर्दा यो ५० करोडभन्दा धेरै सिमी उत्पादन हुने गरेको तथ्यांक विभिन्न आधारबाट थाहा भएको छ । योमध्ये करीब ४० प्रतिशतमा मात्र बजारमा बिक्री हुने गरेको छ । बाँकी घरायसी काम र बीउबीजनका लागि स्टक राख्ने गरिन्छ ।

 

Loading...