पच्चीस हजार हुम्लावासीलाई आँखा उपचार सेवा

हुम्ला । आँखा उपचार केन्द्र हुम्लाले हालसम्म २५ हजार हुम्लीहरूलाई आँखा उपचार सेवा दिएको छ । आँखा उपचार सेवा जिल्लामा नै उपलब्ध हुँदा सर्वसाधारणहरूलाई सहज भएको छ ।

जिल्लाभरीका २५ हजार हुम्लीहरूलाई विभिन्न प्रकारका आँखाको रोगहरूको उपचार गरिएको र यसबाट आम हुम्लीहरूलाई सहयोग पुगेको आँखा उपचार केन्द्र हुम्लाका प्रमुख बुम बोहराले जानकारी दिए । उनले भने अझै साधन स्रोत र जनशक्तिको अभाबमा धेरै सुविधा दिन नसके पनि आँखाको साधारण रोग र त्यसको उपचारका लागि खर्च हुने आर्थिक भार भने कम भएको छ ।

हुम्ला जिल्लाम नै आँखा उपचार केन्द्र स्थापना भएकोले मेरो आँखाको उपचार सस्तो र सजीलै गर्न सकें नत्र धेरै पैशा खर्च गर्ने मेरो हैसियत थिएन, स्याँडाका स्याँडा गाउँका भैरब बुढाले भने ।

आँखा मानिसको अति संवेदनशिल अंग भएकोले कतिपय सानातिना चोट पटक र चेतनाकमे अभावमा पनि आँखा गुमाउनु पर्ने अवस्था केही मात्रामा भए पनि कम भएको र अझै यसलाई अभियानका रुपमा हुम्लीहरूको घरदैलोमा पुराउन आवश्यक भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले बताए । यसका लागि सबैको आवश्यक सहयोग र हातेमालो आवश्यक रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापित तथा सञ्चालिक आँखा उपचार केन्द्र हुम्लाले जिल्लाभरी आँखा स्वास्थ्यको बारेमा सचेतना तथा विविध प्रकारका जानकारीहरू पनि प्रवाह गर्दै आएको छ ।

आँखामा सामान्य चोट पटक, घाउ हुँदा छिटोभन्दा छिटो सम्पर्क गर्न सकेमा धेरै अवस्थामा अन्धोपनबाट बच्न सकिने केन्द्र प्रमुख बोहरालको अनुभव रहेको छ ।

यसरी मानवीय सेवामा हातेमालो गर्दै आएको रेडक्रसले हुम्ला जस्तो दुर्गम जिल्लामा आँखाको सेवा र सचेतना दिने एक मात्र सामाजिक संस्था हो । यसले घरदैलो अभियान अन्तर्गत मोती बिन्दुको शल्यक्रियाको सेवा पनि वर्षेनी दिंदै आएको छ ।

Loading...