नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना

निगमले किन रित्तै जहाज उडाइरहेकाे छ ?

बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन ।

रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर भएका कारण जहाज असन्तुलित भइ रन वेदेखि बाहिर गएकाे थियाे ।

गाैतमबुद्ध विमानस्थलका प्रमुख सिसेल चित्रकारले जहाज रनवेदेखि एक सय मिटर पर गएकाे जानकारी दिए । उनले उक्त विमान पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेकाे थियाे । तर ल्याण्ड गर्नेबित्तिकै पछाडिकाे पाङ्ग्रा पञ्चरभएपछि जहाज अनियन्त्रित हुँदै धावनमार्गभन्दा बाहिर गएकाे थियाे ।

उक्त जहाजमा कुनै यात्रु नभएकाे खुलेकाे छ । जहाजमा दुर्इजना मात्र पाइलट रहेका थिए । उनीहरु दुबै जनालार्इ कुनै चाेटपटक नलागेकाे बताइएकाे छ । धावनमार्गमै जहाज दुर्घटना भएपछि केहीबेरका लागि यहाँ अाउने उडान राेकिएकाे चित्रकारले जानकारी दिएका छन् ।

स्राेतका अनुसार अाज दुर्घटनामा परेकाे यही जहाज यसअघि पनि टायर पञ्चर भएर दुर्घटनामा परेकाे थियाे । साे विमान यही विमानस्थलमै यसअघि टाएर पंचर भएर दुर्घटना परेकाे र अहिले याे दाेस्राे पटक दुर्घटनामा परेकाे स्राेतले जनायाे । तर, निगमकाे व्यवस्थापनले यसबारे कुनै चासाे नलिएकाे बुझिएकाे छ ।

याे दुर्घटनासँगै नेपाल एयरलाइन्सका जहाजले अधिकांश समय यात्रु नलिएरै उड्ने गरेकाे खुलेकाे छ । याे समयमा अरु निजी एयरलाइन्सलार्इ यात्रु चापाचाप परिरहेकाे छ । यात्रुहरु टिकट नै नपाएर अलपत्र परिरहेका छन् । तर, नेपाल एयरलाइन्सले भने रित्तै जहाज चलाइरहेकाे छ ।

Loading...