मच्छिन्द्रनाथको रथ जात्रामा भएको झडप नियन्त्रण गर्न कोरोना संक्रमित १८ प्रहरी परिचालन गरेको खुलासा

काठमाडौं, १९ भदौ । बिहीबार राताे मच्छिन्द्रनाथकाे रथ जात्राका क्रममा भएकाे झडप नियन्त्रणका लागि परिचालित भएका १८ जना प्रहरीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । शुक्रबार आएकाे काेराेना परिक्षणकाे रिपाेर्टमा उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । जसमध्ये १८ जना बिहीबार पुल्चाेकमा खटेका प्रहरी भएकाे बताइएकाे छ ।

बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । उक्त झडप नियन्त्रणका लागि खटिएका १८ प्रहरीकाे झडपपछि स्वाव संकलन भने गरिएकाे हाेइन । उनीहरुकाे बिहीबार अघि नै स्वाव संकलन गरी परिक्षणका लागि पठाइएकाेमा शुक्रबार मात्र रिपाेर्ट आएकाे हाे । यसले ती १८ प्रहरी पुल्चाेकमा भएकाे झडप नियन्त्रण गर्न जानु अघि नै संक्रमित भएकाे देखाएकाे छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

यसैगरी ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसबाट झडप नियन्त्रणका क्रममा प्रहरीबाटै अरुमा काेराेना सरेकाे हुनसक्ने अनुमान गरिएकाे छ । यदि जात्रामा गएकाहरु सबैकाे परिक्षण गर्ने हाे भने धेरैमा काेराेना देखिन सक्ने अनुमान गरिएकाे छ ।

Loading...