भक्तपुरमा एमालेले बाम गठबन्धन तोड्यो : संयोजक ढकाल

भक्तपुर । नेकपा एमालेले भक्तपुरमा बाम गठबन्धन तोडेको माओबादी केन्द्र भक्तपुरका जिल्ला संयोजक डीपी ढकालले बताएका छन् । इभक्तपुरसंग कुरा गर्दै संयोजक ढकालले एमालेले गठबन्धन तोडीसकेपछि माओबादी केन्द्र मात्र गठबन्धनको पुच्छर समातेर बस्न नसक्ने बताए ।

 

 

२ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक – एक क्षेत्र बाँडफाँड गरि चुनावमा होमिएकाे बाम गठबन्धन भक्तपुरमा एक साता नपुग्दै संकटग्रस्त बन्यो । माओबादीको भागमा परेको क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ पनि एमालेलाई सुम्पिएर प्रदेश ‘क’ मै माओबादीले चित्त बुझाएको थियो तर एमालेले उक्त क्षेत्र पनि नछोडे पछि अवस्था फुट तिर मोडियो । 

 

एमालेका जिल्ला इन्चार्ज सोम मिश्र नै प्रस्तावक बनेर जिल्ला सचिव हरि शरण लामिछानेले दर्ता गराएको बागी उम्मेदवारी फिर्ता नगरेपछि एमालेले गठबन्धन तोडेको माओबादी केन्द्रले निष्कर्ष निकालेको हो ।

 

 

आइतवार उम्मेदवारी फिर्ता लिने समय सकिए संगै बाम गठबन्धनको औचित्व सकिएको माओबादी केन्द्रका संयोजक ढकालको भनाइ रहेको छ । जिल्ला पार्टीको बिस्तारीत बैठकबाट आधिकारिक धारणा सार्वजनिक गर्ने कुरा उनले बताएका छन् ।

 

ढकाल उक्त बिबादित प्रदेश १ ‘क’ का बाम गठबन्धनका उम्मेदवार पनि हुन् । बिद्यार्थी राजनीतिबाट जनयुद्ध जनआन्दोलन हुदै स्थापित भएका ढकाल भक्तपुरमा प्रभावशाली नेतृत्व क्षमता राख्दछन् ।

 

बाम गठबन्धनमा देखिएको दरार संगै क्षेत्र नम्बर २ मा महेश बस्नेत अप्ठ्यारोमा पर्ने आँकलन गरिएको छ । उनलाई स्थापित हुन नदिन र माओबादीलाई उत्तेजित बनाइ बस्नेतलाई हराउन एमालेकै केहि नेताहरुले गठबन्धनका बिरुद्ध भूमिका खेलेको बिश्लेषण गरिएको छ ।

Loading...