सन्दिपले लगातार विकेट लिएपछि जमैकाको तेस्रो जित

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग-सीपिएल क्रिकेटमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाजले तेस्रो जित हात पारेको छ।

आफ्नो छैटौँ खेलमा जमैकाले आइतबार बिहान सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३७ रनले हरायो। सन्दीपले दुई विकेट लिए। कार्लोस ब्राथवैटले तीन तथा फिडेल एडवार्डस र भिरसामी पर्मौलले पनि दुई दुई विकेट हात पारे।

टस जितेर पहिला ब्याटिङ गरेको तल्लावाजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन जोडेको थियो। जमैकाका प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले अविजित ७९ रन बनाए। उनले ६१ बलमा ६ छक्का र दुई चौका प्रहार गरे। प्याट्रियट्सले दुई बल बाँकी रहँदा सबै विकेट गुमाएर एक सय १० रनमात्र जोड्न सक्यो।

सन्दीपले चार ओभरमा २७ रन खर्चिए। ब्राथवैटलेे ३.४ ओभरमा एक मेडन राखेर ११ रनमात्र दिए। एक विकेट लिएका मुजिब उल रहमानले पनि चार ओभरमा १२ रन मात्र खर्चिए।

६ खेलबाट ६ अंक भएको जमैका तालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको ट्रिनबागो नाइट राइडर्सको ६ खेलबाट १२ र दोस्रो स्थानको सेन्ट लुसिया जुक्सको ६ खेलबाट ८ अंक छ। चौथो स्थानमा रहेको बार्बाडोस ट्राइडेन्ट्सको ६ खेलबाट चार अंक छ। गुयाना एमाजन वारियर्सको पनि ६ खेलबाट चार अंक छ।

६ टोली सहभागी प्रतियोगिताको लिग चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।

प्रतियोगितामा सन्दीपले ९ विकेट लिएका छन्। उनले हरेक खेलमा विकेट हात पारेका छन्। तीन खेलमा दुई दुई र तीन खेलमा एक एक विकेट हात पारेका छन्। प्रतियोगिताको सर्वाधिक विकेट लिने मुजिब उल रहमानको नाममा १३ विकेट छ।

Loading...