प्रमुख दलहरु विदेशी जासुस र पञ्चहरुको कब्जामा : नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले २२ हजार भन्दा बढी नेपालका सरकारी कर्मचारीहरु भारतको पनि तलब लिएर देशघाती कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘राज्यस्तरबाट रचित भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रमलाई अनलाइन जुममार्फत सम्बोधन गर्दै उनले उक्त आराेप लगाएका हुन् ।

उक्त अवसरमा अध्यक्ष बिजुक्छेले नेपालको खुल्ला सीमाना भएको भन्दै विदेशी जासुसहरु र पञ्चहरु नेपालका प्रमुख दलहरुमा भएको कारण शासक दलहरुले देश र जनताको सुरक्षा र सेवा गर्न नसक्ने दावी गरे । अध्यक्ष बिजुक्छेले भारतले हाम्रो खुट्टा बाँधेको र यदि एमसिसि पास भएमा अमेरिकाले पनि हाम्रो खुट्टा बाँध्ने बताउदै दुबैले तान्दा नेपालको हविगत नाजुक हुने बिचार व्यक्त गरे ।

बिहीवार जुम मार्फत सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले तत्कालिन सरकारले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको बताउदै सर्जमिन एकतर्फी गरिएको र जिल्ला अदालतमा मुद्दा नगरी विशेष अदालतमा गरिनु संविधान र ऐनकानून विपरित भएको जानकारी गराए ।

३२ वर्ष अघि २०४५ भदौ ९ गते पञ्चायती सरकारले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) लगायत ६७ जना नेता तथा कार्यकर्ताविरूद्ध राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजू हत्या आरोपमा मुद्दा लगाएको थियो । त्यो काण्ड भक्तपुर काण्डको रुपमा चर्चित रहेको छ ।

उनले त्यतिबेला पञ्चायतले नेमकिपाका नेता–कार्यकर्ताहरुलाई युद्धबन्दीको जस्तो दुर्व्यवहार गरेको स्मरण गर्दै तत्कालिन सरकार प्रमुख र मन्त्रीलगायतका उच्च पदस्थहरुले नै “रोहितलाई फाँसी दे” भन्दै जुलुशमा नारा लगाउनु भत्र्सनायोग्य भएको बताए ।

उनले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गरेको कारण त्यसलाई रोक्ने उद्देश्य लिएर त्यतिबेला पंचायतले षड्यन्त्र गरेको जिकिर गरे । कम्युनिष्ट पार्टीविरुद्ध बेलायत, फ्रान्स, रुस, जर्मनी, अमेरिकालगायतका देशहरुमा पनि षड्यन्त्र भएको र नेपालाम नेमकिपा त्यसको सिकार भएको इतिहास उनले सुनाए ।

नेपालमा बिग्रेको मल आयात गर्ने मन्त्रीहरुलाई फाँसी दिनुपर्ने बताउदै उनले ठेक्का पट्टा र गुन्डागर्दीबाट युवा–विद्यार्थीलाई टाढा राख्नुपर्ने र स्वयम्सेवक भई काम गर्नपर्नेमा जोड दिए ।

जुम कार्यक्रममा नेक्राविसंघ केन्द्रीय सदस्य सरजु फसिकवाले भक्तपुर काण्डको घटनाक्रम र नेमकिपाको सङ्घर्षबारे प्रस्तुती दिएका थिए ।

नेक्राविसंघ केन्द्रीय समितिका अध्यक्ष सबिन ख्याजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष प्रकाश गुरुङ र सदस्य मिलन गणेजूले पनि बिचार व्यक्त गरेका थिए ।

Loading...