सुदूरपश्चिमका तीन प्रयोगशालामा परिक्षण गर्दा १२९ जना कोरोना संक्रमित भेटिए

धनगढी, ९ भदाै । पछिल्लाे २४ घन्टामा सुदूरपश्चिममा १२९ जना काेराेना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा १ सय २९ जनामा संक्रमण पुष्टि भएको हो।

जसअनुसार कैलालीका ३०, डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जना संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अछामको चौरपाटी गाउँपालिकका १२, साँफेवगरका ५ र मंगलसैनका एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १ का चार, वडा नम्वर ५ का दुई, वडा नम्वर २ का एक, लम्कीचुहाका ५, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। डोटीको आदर्श गाउँपालिकका एक जनामा पनि कोरोना देखिएको छ।

मंगलबार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरीया र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुईजनामा संक्रमण पुष्टि भएको भुषालले जानकारी दिए। उनका अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाका दुईजनामा पनि कोरोना पुष्टि भएको छ।

मंगलबार डोटी अस्पतालमा ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको डोटी अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार जिल्लाको शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, केआईसिंह गाउँपालिकाका चार पुरुष र दिपायल सिलगढी नगरपालिकाका एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको छ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३९ पुगेको छ।

Loading...