बाबुरामको घरमा विप्लवको झन्डा, नेकपाले देशभर उम्मेदवारका घरमा गाड्यो कालोझण्डा

गाेरखा, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले देशभर उम्मेदवारका घरमा विराेधस्वरुप कालाेझन्डा गाडेकाे छ । देशका विभिन्न भागमा नेकपाले कालाेझन्डा गाड्नेसँगै अन्य गतिविधि बढाइरहेकाे छ । यसैक्रममा नेकपाले बाबुराम भट्टरार्इकाे घरमा कालाे झन्डा गाडेकाे छ ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक रहेका भट्टराईको घरमा नेकपाले शुक्रबार राती झण्डा गाडेको हाे । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा रहेका भट्टराई जिल्लामै रहेको बेला नेकपा उनकाे पालुङटार नगरपालिकास्थित घरमा कालो झण्डा गाडेको नेकपा गोरखाका सेक्रटरी गोपाल पाण्डेले जानकारी दिए ।

सेक्रेटरी पाण्डेले भने, “यो चुनाव दलाल संसदीय व्यवस्थालाई सुदृढ गर्न चुनावको नाटक गरिँदैछ, हाम्रो पार्टी यसलाई खारेज गर्दछ । उम्मेदवारी फिर्ता लिन हामीले गरेको आग्रह अस्वीकार गरेका कारण बाबुरामजीको घरमा कालो झण्डा गाडिएको हो ।”

यसअघि नेकपाले विना विभागीय मन्त्री तथा माअाेवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरकाे घरमा कालाेझण्डा गाडेकाे थियाे । रुकुम पश्चिमबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका शर्मा रुकुममै रहेका बेला उनकाे घरमा कालाेझन्डा गाडिएकाे हाे ।

त्यसैगरी प्यूठानमा पनि योजना अायोगका पूर्व उपाध्यक्ष एवं भुकम्प पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा. गाेविन्दराज पाेखरेलकाे घरमा कालाेझण्डा गाडेकाे छ । पाेखरेल नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । त्यसैगरी नेकपाले प्यूठानबाट प्रदेससभा उम्मेद्वार बनेेका माअोवादी केन्द्रका नेता कृष्णध्वज खडकाको घरमा पनि कालाेझण्डा गाडेेकाे छ ।

यसैबीच नेकपाले भोजपुरमा नेपाली काँग्रेसका उम्मेदवारको घरजग्गा कब्जा गरेका छन् । भोजपुरको प्रदेशसभाको क्षेत्र (ख) बाट प्रत्यक्षतर्फका उम्मेदवार गोविन्द कार्कीको घरमा नेकपाले झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको हो ।

नेकपाका जिल्ला सेक्रेटरी मादेनले विज्ञप्ति जारी गरेर भोजपुर नगरपालिका–१२ टक्सारस्थित कार्कीको घर कब्जा गरेको घोषणा गरेका छन् । उनले उम्मेदवारी फिर्ता लिन आफ्नो पार्टीले गरेको आग्रहलाई स्वीकार गरेको र उल्टै पार्टीविरुद्ध अभिव्यक्ति दिने गरेकाले कारवाही स्वरुप घर कब्जा गरेको बताए ।

Loading...