आफ्नो मृत्युपछि मात्र सार्वजनिक गर्नु भनेर राष्ट्रकवि घिमिरेले ६१ वर्षदेखि लुकाएको गीत यस्तो छ

काठमाडाैं । एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान १० बजे पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिने कार्यक्रम तय गरिएकाे छ।

घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन्। उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा गीत, कविता र काव्यहरु सिर्जना गरेका छन्। तर, उनले वि.सं. २०१६ सालमा लेखेको एउटा गीत भने आफ्नो मृत्युपछि मात्रै सार्वजनिक गर्न भनेका थिए। जुन गीत उनको मृत्यपछि हिजो मात्रै सार्वजनिक भएको छ।

गीतमा आशिष अविरलले संगीत भरेका छन् भने कर्णदासले स्वर दिएका छन्। राष्ट्रकवि घिमिरेले आफू बितेपछि सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउनु भनेर रेकर्ड गराएको गीतको शब्द यस्तो छ :

त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण

अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण।।

Loading...