महाराजगञ्ज टिचिङ अस्पतालका चिकित्सकसहित २२ जनामा कोरोना, अस्पताल सिल

काठमाडौं, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी २२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । शुक्रबार थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै यो संख्या २२ पुगेको हो ।

टिचिङ अस्पतालमा स्वास्थ्यकर्मीमै कोरोना फैलिएपछि विरामीहरुमा समेत त्रास उत्पन्न भएको छ । अहिले त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग पूरै सिल गरिएको छ । बुधबार इमर्जेन्सीमा कार्यरत २ जना चिकित्सक सहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गरी उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

शुक्रबार कोरोना संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मी इमरजेन्सी विभागका भने होइनन् । उनीहरु अस्पतालकै अन्य विभागमा कार्यरत स्वास्थ्यकर्मी भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिएका छन् । उनले उनीहरु कुन वार्डको हुन भनेर छुट्याउन बाँकी रहेको पनि उनले जानकारी दिए ।

उनले इमरजेन्सी विभागका एक सय भन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको बताए । उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने उनले जानकारी दिए । स्वाव संकलन गरिएका सबै जना अहिले होम क्वारेन्टाइनमा रहेको पनि उनले बताए ।

इमर्जेन्सी विभागमा कार्यरत चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र इमर्जेन्सी सेवा खुल्ने वा नखुल्ने विषयमा निर्णय हुने र अहिले भने बन्द नै गरिएको डा. दासले बताए।

Loading...