हुम्ली पत्रकारिताका बृहस्पति: जयबहादुर रोकाया

सन्दर्भ: तेह्रौ दिनको पूण्य तिथि

हुम्ला जस्तो विकट र दुर्गम जिल्लामा बसेर पनि पत्रकारिताप्रतिको क्रेजले आफुलाई अन्य विभिन्न पेशाहरुमा स्थिर रुपमा आवद्ध गर्न गराउने नसकेको देखिन्छ । बेन्नु, शैक्षिक हिमज्योति, रलिङ्ग सन्देश, सूरुची, कान्तिपुर जस्ता विभिन्न प्रकारका गाउँदेखि राष्ट्रिय स्तरसम्मका पत्रिकाका कर्नालीका गुरु मानिँदै आएको छ- जयबहादुर रोकायालाई ।

हुम्ला लगायत कर्नालीका व्यवसायिक पत्रकारिताका गुरु, अगुवा, अग्रज तथा फरक धारका पत्रकार हुन्- जयबहादुर रोकाया । सम्भवतः कर्नालीमा करीब पाँच दशकसम्म निरन्तर पत्रकारिता गर्ने उनी मात्र एक्ला पत्रकार हुन । वि.सं. २०२४/०२६ को कालखण्डमा कर्नालीको बिगुल मानिने सामयिक पत्रिका बेन्नुमा लेख रचना छपाएर उनले पत्रकारिता क्षेत्रका जानी नजानी प्रवेश गरेको देखिन्छ ।

पञ्चायती व्यवस्थाको कालरात्रीको कठोर समयमा सचेतनाको बिगुल फुक्ने पत्रिका बेन्नुको प्रकाशन कालदेखि पत्रकारितामा आवद्ध कर्नालीका एक व्यावसायिक सिर्जनशील, उर्जाशील र खोज पत्रकारिताको माध्यमबाट कर्नालीको हुम्लालाई राष्ट्रियस्तरमा चिनाउने हुम्ली पत्रकारिताका गुरु, सामाजिक अभियन्ता, हुम्ली कम्युुनिष्टका अगुवा लगायत विभिन्न क्षेत्रका अगुवा सर्जक जयबहादुर रोकायाको ६६ वर्षको उमेरमा २०७७ साल साउन १७ गते शनिवारका दिन दिउँसो करीब चार बजेतिर असामयिक रुपमा निधन भयाे ।

नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सस्थापक अध्यक्ष, उद्योग वाणिज्य संघ, हुम्लाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, स्नोल्याण्ड एकीकृत विकास केन्द्रका एक संस्थापक, रेयुकाईका संस्थापक अगुवा, हुम्लाको पहिलो एफएम कैलाश, कर्नालीमा पहिलो दर्ता भएकाे पत्रिका हिमाली मुस्कान मासिकका व्यवस्थापक लगायत विभिन्न क्षेत्रका गुरु, अगुवा, संस्थापक, अग्रज तथा सामाजिक अभियन्ता जयबहादुर रोकायाको निधनले हुम्ला लगायत सिंगो कर्नालीलाई अपूरणीय क्षति बनाएको मत पत्रकार राजन रावतको रहेको छ ।

विद्रोही, स्वाभिमानी, सरल, प्रगतिशील र सादा जीवन उच्च विचारका धनी रोकायाले हुम्लीलाई नयाँ बाटोमा लाग्न सिकाएको हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्नु हुने सांसद छक्कबहादुर लामाको संगाती अनुभव रहेको छ ।

कर्नालीको साझा आवाजको रुपमा प्रकाशन हुने बेन्नु पत्रिकामा आवद्ध भएर जेवी प्यासीको रुपमा राेकायाले लेख रचना प्रकाशन गरेका छन् । २०२४ सालपछि कर्नालीका जागरुक युवाहरुको समुहले शुरुवात गरेको बेन्नु पत्रिकाको कोर टिममा सहभागी भएर पत्रकारिताको माध्यमबाट आफु र आफ्नो समाजलाई सचेत बनाउनुका लागि ठूलो र कठिन संघर्षले नै हुम्लामा कम्युनिष्टका गुरु, पत्रकारिताका गुरु, सामाजिक सचेतनाका अग्रज र व्यवासायीहरुको साझा मञ्च उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष जस्ता विभिन्न पदहरुमा रहेर प्रगतिशील समाजको निर्माणका लागि करीब एक वर्ष जेल बसेका रोकायाको प्रगतिशील र फरक विचार रहेको सिमकोट गापा ५ का धर्मराज रोकाया बताउँछन् ।

हुम्ला जिल्लाको राजनीतिदेखि सामाजिक अभियानको क्षेत्रमा एक अगुुवाको रुपमा परिचित रोकाया विभिन्न विषम परिस्थितिमा पनि पत्रकारिता जस्तो विना आर्जनको पेशालाई व्यवसाय बनाएर कर्नालीमा रत्नाकर देवकोटापछि आफुलाई एक संस्था, एक ट्रेडमार्क, एक आइकोन र एक अविभावकको रुपमा हामी र हाम्रो इतिहासले सम्झिरहनेछ ।

केही दिनको पक्षधातले बिरामी परेका रोकायालाई त्यही राेगले सधैँका लागि हामीहरु माँझबाट चिर निद्रामा पु–यायाे । २०७७ साल साउन १७ गते बेलुका सात बजे नेपाल पत्रकार महासंघ हुम्ला शाखाको आपतकालीन बैठक बसी शोक प्रस्ताव पारित गर्याे । हुम्लाका पत्रकारिताका गुरु जयबहादुर रोकायाको नाममा अक्षय कोषको स्थापना सहित पत्रकारिता पुरस्कारको स्थापना गर्ने नेपाल पत्रकार महासंघ हुम्ला शाखा स्रोतले जानकारी दिएको छ ।

हुम्लाको विकासे कुराका सवालहरु, सामाजिक र सांस्कृतिक सन्दर्भका लेख रचनाहरु, राजनीतिक सचेतनाका कुराहरु र पत्रकारिताको क्षेत्र जस्ता बहुआयामिक कुराहरुको जग बसाल्ने रोकायाले एक इतिहासलाई खुला विद्यालयको रुपमा चिनाएर गएका छन् । उनी पछिल्लो समय केही पारिवारिक कुराले निस्क्रिय बनेका थिए ।

हुम्लालाई बहुआयामिक रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन उनको ठूलो योगदान रहेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल लामा बताउँछन् ।

वि.सं. २०१२ साल माघ १२ गतेका दिनमा आमा औंली रोकाया र बुबा सिंहवीर रोकायाको पहिलो सन्तानको रुपमा सिमकोट गाउँपालिका वडा नं ५ खाद्दक गाउँको हिल्छारुख टोलमा जन्म भएको हो । हाल उनका दुई भाई र एक बहिनी रहेका छन् भने चार छोरा र एक छोरी र श्रीमती रहेका छन् ।

आफु बत्तीमुनीको अध्याँरो भएर पनि हुम्लाको पत्रकारिता क्षेत्र, राजनीतिक क्षेत्र, सामाजिक र अन्य क्षेत्रका अभियन्ताको अगुवा बने । उहाँलाई भ-याङ्ग बनाएर विभिन्न क्षेत्रका लाग्नेहरु हुम्लाबाट उठेर राष्ट्रियस्तरमा पुगे पनि उहाँको सम्झनामा केही शब्द खर्च गर्न पनि उपयुक्त नठान्नु ताक परे तिवारी नत्र गोतामेको सन्दर्भ सम्झना हुन्छ । 

पत्रकारिता क्षेत्रलाई सँधै विशेष सीप र पेशा मानेर ५० वर्षसम्म पत्रकारिता क्षेत्र लाग्ने जयबहादुर रोकायाको सम्झना र सम्मानका यी अक्षरहरु तेह्र दिनको पूण्यतिथिमा श्रद्धा सुमन स्वरुप टक्र्याएको छु ।

Loading...