रुसी वैज्ञानिकले कोरोना विरुद्ध बनाएको पहिलो भ्याक्सिनलाइ रुस सरकारले दियो मान्यता

काठमाडौँ । कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने यसबारेमा रुसले प्रयाप्त जानकारी नदिएकाे जनाएकाे छ । डब्लुएचओले क्लिनिकल टेस्टको तेस्रो चरणमा ६ वटा भ्याक्सिन पुगेकाे जनाएकाे छ । त्यसमा रुसले तयार पारेकाे भनेकाे भ्याक्सिन नपरेकाे डब्लुएचओले जनाएकाे छ ।

गत साता नै रुसले यो खोप परीक्षण गरेको भन्दै अब ‘मास भ्याक्सिनेसन’ सुरु गर्ने बताएको थियो । डब्लुएचओकी प्रवक्ताले भने अगस्ट ४ मा पत्रकार सम्मेलनमा ‘कसैले केही नयाँ चिज पत्ता लगायो भन्ने खबर राम्रो हो तर, काम गर्नसक्ने भ्याक्सिन बनाउने कुनै उपाय पत्ता लगाउनु र सबै चरणका परीक्षण पार गर्नुमा ठूलो भिन्नता छ’ भनेकी थिइन् ।

रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ ।

Loading...