विराटनगरका ८ जना पत्रकारमा एकैदिन कोरोना संक्रमण

काठमाडौं, २७ साउन । विराटनगरकाे एउटै सञ्चारगृहमा काम गर्ने ६ सहित ८ जना पत्रकारमा काेराेना संक्रमण देखिएकाे छ । एकैपटक ८ जना पत्रकारलाइृ काेराेना संक्रमण भएपछि जिल्लाका मिडियामा त्रास उत्पन्न भएकाे छ ।

संक्रमित भएका मध्ये ५ जना विराटनगरबाट प्रकाशित हुने एक स्थानीय दैनिक पत्रिकामा पत्रकार हुन् । साथै साेही दैनिकमा काम गर्ने एक कम्प्युटर अपरेटरलाइृ पनि संक्रमण देखिएकाे छ ।

त्यसैगरी विराटनगरबाटै राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाका लागि काम गर्ने पत्रकार र विराटनगरकै अर्को दैनिक पत्रिकामा मार्केटिङमा काम गर्ने व्यक्तिमा पनि कोरोना संक्रमण भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले ‘साउन २३ गते स्बाव संकलन गरी परीक्षणका लागि पठाइएकोमा त्यसको रिपोर्ट हिजो (सोमबार) बेलुका बल्ल आएकाे जानकारी दिए । उनले साउन २४ र २५ गते स्वाब संकलन गरिएका पत्रकारको रिपोर्ट अझै आउन बाँकी रहेकाे बताएका छन् । उनले अहिले संक्रमित भएकाहरुमा कोभिड–१९ को लक्षण समेत देखिएको बताए।

उनले ज्वरो अाएपछि उनीहरुकाे स्वाब संकलन गरिएकाे जानकारी दिए । ज्वराे अाएका मध्ये केहीको ज्वरो निको समेत भैसकेको थियाे । लुइटेलले आफ्नै घरमा रहेका स्थानीय सञ्चारकर्मीलाई भन्दा डेरामा बस्नेहरुलाई बढि समस्या परेको बताए।

‘डेरा गरी बस्ने सञ्चारकर्मीलाई बढि समस्या परेको छ। आइसोलेसनमा राखिदिनुहोस भनेर विभिन्न निकायहरुलाई आग्रह गर्‍यौं, तर कसैले पनि वास्तै गरेको छैन,’ उनले भने। पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण भइरहेका ठूला शहरमध्ये विराटनगर एक हो।

स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकअनुसार मोरङ जिल्लामा ३ सय ३४ सक्रिय संक्रमित छन्। त्यहाँका ल्याबको क्षमताभन्दा बढि स्वाब संकलन भएको हुँदा समयमा रिपोर्ट दिन नसकेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ।

Loading...