विवाहको नाटक गरेर युवतीको सुन र लाखौ नगद लुट्ने राजन पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

डिएसपी घनश्याम श्रेष्ठका आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन्। राजनले केही महिनाअगाडि एक महिलासँग चिनजान गरेका थिए। उनले ती महिलालाई आफ्नो नाम पनि राजन श्रेष्ठ बताएका थिए।

फोनमा कुरा गरेपछि उनीहरूको भेट भयो। केही समयको भेटघाट पछि राजनले ती महिलालाई विवाह गर्ने प्रस्ताव राखे। ती महिलाले पनि राजनले आफूलाई प्रेम गर्ने ठानेर विवाह प्रस्तावलाई स्वीकारिन्। उनीहरूले विवाह गरे। ‘विवाहपछि चन्द्रगिरिको चेकपोष्टस्थित एक घरमा उनीहरू डेरामा बसे,’ डिएसपी श्रेष्ठले भने। उनीहरु साउन १६ देखि २१ गतेसम्म डेरामा बसेको देखिन्छ।

गत बुधबार बिहान पाँच बजेतिर महिला उठ्दा छेउमा सुतेका राजन त थिएनन्। उनले कतै गयो होला सोचिन्। समय बित्यो, राजन आएनन्। त्यसपछि उनले दराज खोलेर हेरिन्। बल्ल थाहा भयो- राजनले त उनलाई झुठो आश्वासन देखाएर विवाह गरेका रहेछन् अनि पैसा लुटेर भागेछन्।

उनले आफूमाथि विवाहको वहानामा पटक-पटक जबर्जस्ती करणी भएको तथा ठगिएको महसुस गरेपछि उजुरी दिइन्। ‘केही दिन उनीहरू डेरामा बसे पनि पछि केटाले ती महिलाको सबै धनमाल चोरी गरी फरार भएको देखिन्छ,’ डिसपी श्रेष्ठले भने,’उनी ठगीएको थाहा पाएपछि प्रहरीमा उजुरी आएको थियो। त्यही उजुरीका आधारमा हामीले उनलाई पक्राउ गरेका हौं।’

राजनले दराजबाट दुई लाख नगद, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ, र एक थान मोबाइल लिएर फरार भएका थिए। पक्राउ परेका राजनमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ बमोजिम जबर्जस्ती करणी तथा ठगी कसुरमा थप अनुसन्धान गरिरहेको छ।

Loading...