तराईका जिल्ला र सार्क देशमा तत्काल उडान नहुने

काठमाडौं, २५ साउन । सरकारले भदाै १ देखि हवाइ उडान खुलाउने भने पनि केही थाेरै स्थानमा मात्र खुल्ने भएकाे छ । अान्तरिक तर्फ पाेखरा, भरतपुर र केही पहाडी जिल्लामा मात्र उडान गर्ने गरी तयारी भइरहेकाे स्राेतले जनाएकाे छ ।

साथै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान पनि केही निश्चित गन्तव्यमा मात्रै हुने भएका छन् । त्यसमध्ये सार्क देशहरुमा हवाइ उडान नहुने भएकाे छ । त्यसैगरी अान्तरिकतर्फ तत्कालका लागि काठमाडौंबाट तराई मधेसका ठूला विमानस्थलहरुमा उडान नहुने बताइएकाे छ । काेराेनाकाे संक्रमण बढिरहेकाले तराइका जिल्लामा हवाइ सेवा नखाेल्ने बताइएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी)मा यहीअनुसारकाे प्रस्ताव तयार पारेर लग्दै गरेकाे बताइएकाे छ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आन्तरिक उडानतर्फ पोखरा र भरतपुरमा उडान खोल्ने प्रस्ताव गरिएको छ । त्यस्तै हिमाली भेगमा हुने उडानलाई पनि अनुमति दिने प्रस्ताव गरिदैछ ।

यसअघि सरकारले आन्तरिकतर्फ साविकको तुलनामा ३३ प्रतिशतसम्म उडान खोल्ने तयारी गरेको थियो । तर पछिल्लो केही सातायता भारतसँग सीमा जोडिएका क्षेत्रहरमा संक्रमण बढेकाले ट्रंक रुटमा तत्काल उडान नखोल्ने प्रस्ताव सीसीएमसीमा राख्न लागिएको मन्त्रालय स्रोतले बताएको छ ।

Loading...