शक्तिशाली वम बिस्फोट हुँदा लेबनानमा कम्तीमा ७८ जनाको मृत्यु, ४,००० बढी घाइते

काठमाडाैं । लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ। बिस्फोटनमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको लेबनानका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ । गोदाममा विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका कारण ठूलो मानवीय क्षति हुने गरी बिस्फोट भएको सरकारी अधिकारीले बताएका छन् ।

राष्ट्रपति मिशेल एउनले ट्वीट गरेरका छन्, ‘२७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य छ ।’ बिस्फोटनको थप कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको लेबनानका अधिकारीले बताएका छन् । लेबनानको सर्वोच्च सुरक्षा परिषदले घटनामा दोषी देखिनेमाथि कडा भन्दा कडा कारवाही गरिने बताएको छ ।

बिस्फोटका घाइतेका कारण अस्पतालहरु भरिभराउ हुँदा सेवा प्रभावित भएको छ । बिस्फोटबाट स्थानीय धेरै घरहरु ध्वस्त भएको पनि जनाइएको छ । राष्ट्रपति एउनले तीन दिनका लागि शोक घोषणा गरेका छन् । उनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री हासन दियबले बिस्फोटलाई गम्भीर विनाश भनेका छन् । उनले जिम्मेवार सबैलाई कडा कारवाही हुनु पर्ने उल्लेख गरेका छन् । पूर्वी भूमध्यसागरको साइप्रसको आइल्याण्डसम्म अर्थात २४० किलोमिटर परसम्म बिस्फोटको आवाज सुनिएको थियो ।

Loading...