पाटनको लिच्छवीकालीन मू छेँ आगम घर निर्माण हुने

श्रावन १७ ,ललितपुर।   ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण सुरु हुने भएको छ । पुनर्निर्माण कार्यको विधिवत शुरुवातकालागि आगम घरका गुठियारहरुले ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाका हातबाट क्षमापूजाको गरिएको थियो ।  
 
 
 ललितपुर महानगरपालिकाले विनियोजित गरेको २० लाख रकमले निर्माण कार्य थालनी हुन लागेको उक्त पुननिर्माणको प्राविधिक सहयोग काठमाण्डौँ उपत्यका संरक्षण कोष (के.भि.पि.टी.)ले गर्ने भएको छ । के.भि.पि.टी.का तर्फबाट दिइएको योजना अनुसार परम्परागत शैलीको मनमानेश्वरी देवी (मणिद्विप भवानी)को ३ तल्ले प्यागोडा शैलीको मन्दिरको निर्माणकालागि अनुमानित बजेट ७६ लाख रहेको बताइएको छ । आवश्यक बजेटको ब्यवस्था भएमा ६ देखि ८ महिनामा निर्माण सम्पन्न हुन सक्ने पुननिर्माण समितिका अध्यक्ष समेत रहेका मूल गुठियार साम्राज्य देव श्रेष्ठले जानकारी गराएका छन ।
मन्दिरको स्वामित्व रहेको गुठी संस्थान ललितपुर तथा सम्पदा संरक्षणको दायित्व रहेको पुरातत्व विभागबाट उचित सहयोग प्राप्त नभएको अवस्थामा समितिले प्रदेश सभासद, दातृ निकाय लगायत स्थानिय जनसहयोगबाट भएपनि यथासक्य चाँडो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मू छेँ आगम घर संरक्षण तथा खड्ग जात्रा व्यवस्थापन समिति एवं पुननिर्माण समितका अध्यक्ष श्रेष्ठ बताउँछन । उक्त मन्दिरको महत्व र पुननिर्माण सम्बन्धि उहाँसँगको क्यामेरापर्सन कृतन मंगल जोशीले गर्नुभएको संवादका केहीअंश यहाँ प्रस्तुत गरिएको छ ।
मूछेँ आगम घरको महत्वः पाटनका ८ मणि मध्ये प्रमुख मानिने यस मूछेँ आगम घरको ऐतिहासिक नाम मणिछेँ रहेको छ । यहि आगमबाट ऐतिहासिक मनमानेश्वरी देवी (मणिद्विप भवानी) सम्बन्धित दशैमा हुने ऐतिहासिक खड्ग जात्रा पनि हुने गर्दछ । पछिल्लो समयमा संम्पदाप्रेमीहरुको पहलमा ं२०७४ सालमा २४ वर्षपछि सो जात्रा पुनः संचालनमा आएको हो । मनमानेश्वरी (मणिद्विप भवानी) लाई राजा मानदेवको ईष्टदेवीको रुपमा लिइने गरिन्थ्यो । किम्बदन्ती अनुसार यो आगम घर मानदेवका नाती वसन्तदेवको शासनकालमा तान्त्रिक शक्तिसाधनाकालागि निर्माण भएको बताइन्छ । पाटनका प्रायः लिच्छविकालिन पर्वहरु समेत यही आगम घरबाट सञ्चालन गर्नुपर्ने बताइन्छ । २०७२ सालको महाभूकम्पमा मन्दिर पूर्णरुपमा क्षति भएपछि उक्त मूछेँ आगम घरका जात्रामा अत्यावश्यक मूर्तिहरु बाहेक अधिकांश मूर्तिहरु पाटन संग्रहालयमा सुरक्षित राखिएको छ ।
Loading...