सुरक्षामा खटिएका प्रहरीमा संक्रमण पुष्टि भएपछि सभामुखको स्वाव परिक्षणका लागि लगियो

काठमाडाै‌, १७ साउन । संघीय संसदकाे प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सुरक्षामा खटिएका प्रहरीमा काेराेना पाेजिटिभ देखिएपछि सभामुखसहित उनकाे सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीहरुकाे स्वाव परिक्षणका लागि संकलन गरिएकाे छ ।

संक्रमित प्रहरी हेडक्वार्टरमै बस्ने गरेका थिए। पछिल्ला दिनमा प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमित धेरै भेटिएपछि उनको पनि स्वाब संकलन गरिएको थियो। शुक्रबार नै ती सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो। लगत्तै सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

उनीहरुको नतिजा आइतबारसम्म आइसक्ने स्रोतले जनायो। यता इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सभामुख सापकोटाका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएकोबारे विस्तृतमा रिपोर्ट आउन बाँकी रहेको बताए।

Loading...