यसरी बैधानिक हुँदैछ मनाङे, लामा सहितका गुण्डाहरुको राजनीतिक अपग्रेड

काठमाडाैं, १७ कार्तिक । दीपक मनाङे र गणेश लामा याे मंसिरमा हुने निर्वाचनका निकै चर्चाका उम्मेदवार बनेका छन् । उनीहरु उम्मेवार बनेकाे सुन्ने वा थाहा पाउने सबै चकित परेका छन । विभिन्न अपराधिक कार्यबाट बदनाम भएका यस्ता पात्रहरुकाे अबकाे संघीय नेपालमा दवदवा हुने चर्चाले राजनीतिक बजार तातेकाे छ ।

मनाङे र लामा बिरुद्ध काठमाडौं प्रहरीको रेकर्डमा २०६० यतामा मात्र थुप्रै आपराधिक गतिविधि गरेकाे उल्लेख छ । उनीहरुले धम्की र जबरजस्ती रकम असुली त गणना नै छैन । अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा यी दुवैको नाम छ । तर, दुबै जना ठूला पार्टीकाे समर्थनमै यसपटक चुनाव लड्दैछन् । मनाङे नेकपा एमाले र माअाेवादी केन्द्रबीचकाे गठबन्धनका उम्मेदवार बनेका छन् भने लामा नेपाली कांग्रेससहितकाे गठबन्धनका उम्मेदवार बनेका छन् ।

दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन् । मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारका हैसियतमा मनाङ (ख) को बाट उम्मेदवार बनेका छन् । लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे।

लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन् । २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै नेपालभर आपराधिक जालो फैलाउन सक्रिय मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए।

होटलको बाउन्सर हुँदै लामाले मनाङेको मुख्य सहयोगीका रूपमा ठमेल क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै आपराधिक रेकर्डसँगै आर्थिक हैसियत बढाउँदै लगे । रात्रिकालीन व्यवसाय, ठेक्कापट्टा, क्रसर क्षेत्र हुँदै रक्तचन्दन तस्करीबाट उकासिएको आर्थिक हैसियत बढाएका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानमा आपराधिक गतिविधि गरेर कमाएको सम्पत्तिमध्ये खुलेकै २७ करोड देखिएको छ।

त्यही पैसाको आडमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पुच्छर समातेर राजनीतिमा प्रवेश गरेका लामा फोरम कांग्रेसमा विलय भएसँगै कांग्रेसको ‘निष्ठावान् कार्यकर्ता’ बन्न पुगेका हुन् । पटकपटकको जेलयात्रा र कमजोर राजनीतिक संरक्षणले लामाको तुलनामा मनाङे आर्थिक रूपमा केही कमजोर बने।

कहिले राप्रपा, कहिले कांग्रेस त कहिले थरुहट आडमा राजनीतिक संरक्षण लिन भांैतारिएका उनी कतै टिकेनन् । माओवादी र एमाले प्रवेश गर्ने प्रयास असफल भएपछि कमल थापाको फेरो समातेर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशसँगै मनाङको जिल्ला अध्यक्ष भएपछि ‘त्रिपल पी’ गुरुङको सहयोगमा उनका लागि एमालेको ढोका खुल्यो।

प्रारम्भमै एमालेका तर्फबाट प्रदेशसभाको उम्मेदवार बन्ने उनको प्रयास नकारात्मक टिप्पणीले रोकियो । एमालेले उनको स्थानमा खण्डा लामा गुरुङलाई उम्मेदवार बनायो भने मनाङेले स्वतन्त्र उम्मेदवारी दिए । आखिर यो सबै नाटक मात्रै रहेको खुल्यो । खण्डाले उम्मेदवारी फिर्ता लिइन्, एमालेले मनाङेलाई साथ दिने निर्णय गर्‍यो। दलका केही नेताको संरक्षणमा हुर्किएका यी ‘गुन्डा नाइके’ लाई पार्टीले सार्वजनिक रूपमै स्वागत गर्नुको कारण के होला?

संगठित अपराधबारे जानकार नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल राजनीतिमा लागेर आपराधिक गतिविधि गर्नेलाई समाजले सहजै स्विकारेकाले दलले अपराध गरेकाहरूलाई काखी च्यापेको टिप्पणी गरे।

भ्रष्टाचार अभियोग प्रमाणित भएकाहरुसमेत राष्ट्रिय राजनीतिको प्रभावमै रहनु र समाजले उनीहरुलाई अस्विकार नगर्नुले आपराधिक गतिविधिमा लागेका मनाङे र लामा जस्ताको आत्मबल बढेको उनको विश्लेशण छ।

लामा र मनाङेको राजनीतिक यात्रा चुनाव जिताउन नेताको सहयोगीका रूपमा सुरु भएको हो । मनाङे पशुपतिशमशेर राणाको चुनावी सहयोगीका रुपमा सक्रिय थिए । लामा प्रारम्भमा मनाङेको पछि लागेर राप्रपाकै सहयोगीका रुपमा खटिए । केही समयपछि उनी विजय गच्छदार निकट हुन पुगे।

मनाङे र लामाको राजनीतिक ‘कनेक्सन’ को बलियो आधार काठमाडौंको त्रिचन्द्र, अस्कल लगायतका क्याम्पसको स्ववियु चुनाव थियो । स्ववियु चुनावमा प्रचारप्रसारमा केटा परिचालन र बुथ क्याप्चर हुँदै उनीहरु राष्ट्रिय रुपमा प्रभावशाली २ दलको प्रत्यक्ष छत्रछायामा पुगेका हुन्।

काठमाडौं महानगरपालिका–१६ नयाँबजार स्थायी ठेगाना रहेका मनाङेको औपचारिक आपराधिक गतिविधि २०५९ बाट सुरु भएको हो । महानगरीय प्रहरी अपराध महाशाखामा रहेको उनको आपराधिक रेकर्डअनुसार पहिलो घटना २०५९ भदौ १७ मा झापा घैलाडुब्बाका लोचनप्रसाद विमलीसँग १ लाख २८ हजार डकैती गरेको उल्लेख छ।

उनको दोस्रो आपराधिक रेकर्ड २०६० पुस ९ मा ह्यात होटलमा नगेन्द्र श्रेष्ठलाई तरबारले हानेर घाइते बनाएको, चैत १४ मा होटल याक एन्ड यतीमा सुनील श्रेष्ठमाथि कुटपिट गरेको, २०६१ वैशाख ३१ मा महाराजगन्जमा रहेको चुफाङ रेस्टुरेन्टमा अर्का ‘गुन्डा नाइके’ चक्रे मिलनलाई तरबारले हानेर बायाँ हात छिनालिदिएको छ। चक्रेको हत्या प्रयास अभियोगमा मनाङे २०६२ वैशाखमा जेल परेका थिए । उनी २०६३ माघमा मुक्त भए । २०६३ मा काजी शेर्पालाई गोली हानेर हत्या प्रयास गरेको अभियोगमा उनले जेल सजाय भोगेका थिए।

उनको लामो जेलयात्रा सार्वजनिक अपराधमा छ । अभिशेकविक्रम शाहलाई कुटपिट गरेको घटनामा उनलाई काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो । उनी २०६५ मा पक्राउ परेर एक वर्ष जेल बसेका थिए । जेल मुक्त भएपछि उनले राजनीतिमा सक्रिय हुने प्रयास गरे । कांग्रेसका युवा नेतासँग राम्रै उठबस भएपछि उनलाई कांग्रेसले स्वीकार गरेन । उनी नेपाल तरुण दलको मनाङ अध्यक्षसमेत भए । यही बेला उनले एमाले र माओवादीमध्ये एक दलमा आबद्ध हुन गरेको प्रयास सफल भएन।

त्यसपछि उनी थरुहट केन्द्रित दलतिर लागे । २०६८ जेठ ३ मा उनी आफैं उपाध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीलाई कुटेको घटनामा पक्राउ परे र ३ हजार धरौटीमा छुटे । २०६९ चैत २७ मा ठगीमा पक्राउ परेका उनी त्यसपछि पनि संगठित अपराध, चुनावी सुरक्षामा चुनौतीलगायतका अभियोगमा पक्राउ पर्दै र छुट्दै आएका छन्।

स्थानीय तहको पहिलो चरणको चुनावमा सुरक्षामा खलल पुर्‍याउन सक्ने भन्दै पक्राउ परेका मनाङे २० दिन प्रहरी हिरासतमा बसेर धरौटीमा मुक्त भएका थिए । आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको मुद्दामा सफाइ पाएसँगै उनी राजनीतिमा सक्रिय भएर राप्रपा हुँदै एमालेमा पुगेका हुन्।

मनाङेको सहयोगीका रूपमा ठमेल क्षेत्रबाट आपराधिक गतिविधिमा लागेका गणेश लामाको सुदिन मनाङेको पक्राउपछि सुरु भयो । २०६५ मा मनाङे जेल जाँदा लामा उनका मुख्य सहयोगी थिए । मनाङे जेल गएपछि ठमेल क्षेत्रमा फैलिएको रेस्टुरेन्ट र उठ्तीपुठ्ती धन्दाको जिम्मेवारी लामाले पाए । उनले काभ्रेका अन्य सहयोगीलाई ल्याएर ठमेल क्षेत्रमा आफ्नो सञ्जाल बलियो बनाए।

त्यति बेला काठमाडौंमा भारतबाट अवैध रक्तचन्दन ल्याएर चीनको तिब्बत पु¥याउने धन्दा फस्टाएको थियो । रक्तचन्दन काठमाडौंबाट खासासम्म पुर्‍याउने ठेक्का लामाले पाए । राजनीतिक संरक्षणमा चलेको यो धन्दाले उनको आर्थिक हैसियत ह्वात्तै बढायो । मनाङे जेलमुक्त भएपछि ठमेल क्षेत्रको धन्दा नै बाँडफाँट गर्नुपरेको थियो। मनाङे रात्रिकालीन व्यवसाय, ट्राभल्स एजेन्सी, होटललगायतमा सक्रिय भए भने लामा आफ्ना सहयोगी लिएर काभ्रेली समूहमार्फत ठेक्कापट्टा र निर्माण क्षेत्रमा संलग्न भए । लामाको आपराधिक यात्रा २०६० बाटै सुरु भएको हो । त्यसयता उनी हत्या प्रयास, अपहरण, जबरजस्ती रकम असुली र आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा तानिइरहे।

०६२ पछि काठमाडौंमा अभिशेक गिरी, महेन्द्र भोटे, विक्रम लामा, सुजन पौडेल (बाहुन), दिनेश अधिकारी (चरी), अभिमानसिंह बस्नेत, राजु श्रेष्ठ, सगुन श्रेष्ठ, रिगल, ललित गुरुङ, विश्वक्रान्ति, वीरेन्द्र महर्जन, प्रवेश श्रेष्ठ, तेजेन्द्र रायमाझीलगायत समूह संगठित रूपमा उदाए।

यसमध्ये सुजनले हाउजिङ क्षेत्रमा आतंक मच्चाए । नेपाली सेनाको रेन्जर गणको जागिर छाडेका दोलखाका ३० वर्षे सुजनले साना हतियार कारोबारबाट आपराधिक यात्रा थालेका थिए । ०६२ देखि आपराधिक गतिविधिमा छिरेका उनी चार वर्षमै व्यवसायीका लागि सुरक्षा खतरा बने भने प्रहरीका लागि मुख्य चुनौती । अहिले उनी केन्द्रीय कारागारमा छन् ।

राजनीतिमा सक्रिय हुने राजु गोर्खालीको प्रयास यसपालि सफल हुन सकेन । एमाले निकट चक्रे मिलनलाई पार्टीले ‘स्पेस’ दिएन । कांग्रेस निकट कुमार घैंटे र एमाले राजनीतिमा संलग्न हुँदै क्षेत्रीय उपाध्यक्षसमेत भएका दिनेश अधिकारी (चरी) प्रहरी इन्काउन्टरमा मारिए।

गणेशले धम्क्याएर बालुवा र गिट्टीको ठेक्का लिँदै आएका छन् । निर्माणसम्बन्धी काम गर्न उनले सिरुवा कन्सट्रक्सन कम्पनी खोले । सार्कीमान लामा, अमित लामालगायतले उनलाई साथ दिएका थिए । फोरम लोकतान्त्रिकमा केन्द्रीय सदस्यका रूपमा प्रवेशपछि पनि उनको आपराधिक यात्रा रोकिएन । केन्द्रीय सदस्य बन्न उनले पाँच करोड खर्च गरेको उनी निकटकाहरूले दाबी गरेका थिए। गणेश केन्द्रीय सदस्य भएसँगै उनको पार्टीका अध्यक्ष गच्छदार कहिले गृहमन्त्री त कहिले भौतिक योजना मन्त्री भइरहे। तसर्थ लामाले प्रभाव बढाइरहे।

२०७० चैत २२ मा उनी ‘काठमाडौं उपत्यकाभित्र गुन्डागर्दी गर्ने, हतियार बोकेर सर्वसाधारणलाई धम्क्याउने, व्यवसायीसँग जबरजस्ती चन्दा माग गर्ने, चन्दा नदिए अपहरणको धम्की दिने र आफ्ना सहयोगी परिचालन गरी विभिन्न सरकारी तथा गैरसरकारी ठेक्कापट्टाका ठेकेदारलाई धम्क्याई रकम माग गर्न सक्रिय रहेको’ आरोपमा पक्राउ परे।

कोटेश्वरबाट पक्राउ परेका उनीविरुद्ध ठगी गरेको भन्दै ७ जनाले उजुरी दिएका थिए । तर यो घटना झिसमिस भयो। काठमाडौं टेकुका पवन गुप्ताको पायोनियर नेपाल नामक कम्पनीबाट सडक बनाउन प्रयोग हुने बिटुमिन लगेर पैसा नदिएको घटना प्रहरीसम्म आइपुगेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्ध ठगीसँगै बैंकिङ कसुरको मुद्दा लागेको थियो।

गणेश २०७२ असोजमा जग्गा लेनदेन विवादमा अपहरण गरेको घटनामा जोडिए । उनले ललितपुर भैंसेपाटीका कैलाश बास्कोटा र विक्रम बास्कोटालाई अपहरण गरेर जबरजस्ती ४० लाखको कागज गराएको उजुरीपछि प्रहरीले उनको खोजी ग¥यो । तर उनी फरार भए।

आफैं अदालतमा हाजिर भएपछि लेनदेनको मुद्दा मिलिसकेको भन्दै २०७३ वैशाख २८ मा जिल्ला अदालत ललितपुरले उनलाई अपहरण अभियोगमा सफाइ दिने फैसला गरेको थियो । गणेशले आपराधिक गतिविधि गरेर २७ करोड अकुत सम्पत्ति जोडेको मुद्दा विशेष अदालतमा चलिरहेकै छ।

मनाङे, चक्रे, राजु गोर्खाली लगायतकाहरु पक्राउ परिरहे । तर गणेश भने उपत्यकाको सुरक्षामा खटिने सुरक्षा अधिकारीसँगको सेटिङ मिलाएर पक्राउबाट जोगिँदै आएका थिए । स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती हुने भन्दै अन्य गुन्डा पक्राउ गर्दा उनलाई अपराध महाशाखा र काठमाडौं परिसरका अधिकारीले उन्मुक्ति दिएका थिए। नागरिकन्यूजबाट

Loading...