विरगञ्जमा जगदम्बा इन्टरप्राइजेजका सिइओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, १६ साउन । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ। वीरगञ्जमा बस्दै आएका जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।

उनलाई साउन ७ गतेदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि बिहीबार दिउँसोदेखि उनलाइ भेन्टिलेटरमा राखिएको थियो र राति ११ बजे उनको निधन भएकाे अस्पतालले जनाएकाे छ । भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए।

मुटुको रोगी रहेका उनलाई ६ साउनमा कोरोना पुष्टि भएको थियाे । उनको शव हाल वीरगञ्ज कोभिड अस्पतालमै छ। शवको वीरगञ्जमै अन्त्यष्टि गरिने उपाध्यायले जानकारी दिए। उनी भारतीय नागरिक भएपनि शव उता नपठाइँने र वीरगञ्जमै अन्त्यष्टि हुने बताइएकाे छ । 

यसैबीच वीरगञ्जमा शुक्रबार बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पछिल्लोपटक थप ४२ जनामा संक्रमण पुष्टि भएको छ । 

पर्सा जिल्लामा अहिले दुई सय ४२ जना कोरोना संक्रमित उपचारको क्रममा छन्। त्यसमध्ये ६१ जना मात्रै अस्पतालमा छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेकाे बताइएकाे छ । अस्पतालमा रहेकामध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको गण्डक कोभिड अस्पताल स्रोतले जनाएको छ।

बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो। योसँगै पर्सामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

Loading...