भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो, हाम फालेर चालकले जोगाए ज्यान

चितवन । चितवनकाे नाग्दी खोलानजिक एउटा ट्रक त्रिसुली नदीमा खसेकाे छ । उक्त ट्रकका चालकले हाम फालेर ज्यान जाेगाएका छन् । त्रिसुली नदीमा खस्ने ट्रक भाटभटेनी सुपरमार्केटकाे सामान बाेकेकाे खुलेकाे छ ।

पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खाेला नजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँका थिए । ठाेक्किएकाे एउटा ट्रक त्रिशूली नदीमा खसेको हाे । चितवन जिल्ला प्रहरी कार्यालयले चालकलाइ सामान्य चाेटपटक लागेकाे जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ३ ख ८९८७ नम्बरको भाटभटेनी सुपरमार्केटको सामान बोक्ने ट्रक र काठमाडौंबाट हेटौंडा जान मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा बिहान साढे आठ बजे ठक्कर खाएकाे बताए । ठक्कर खाएपछि भाटभटेनीको ट्रक नदीमा खसेको हो ।

ट्रक नदीमा खसे पनि सिन्धुपाल्चोक बाह्रबिसे–३ घर भएका ट्रकका चालक ३५ वर्षीय राजेन्द्र बस्नेत हाम फालेर जोगिएका छन् । हामफाल्ने क्रममा उनलाई सामान्य चोट लागेको छ । उनको मुग्लिनमा रहेको मेडिकलमा उपचार भएको डीएसपी थापाले बताए । खसेको ट्रकमा अन्य कोही नभएको थापाले जानकारी दिए । ट्रक नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ ।

Loading...