एसपीसहित स्याङ्जा प्रहरीका प्रमुख एसपी सहित ३८ जना प्रहरी संक्रमित, जिप्रका पूरै शिल

स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपीसहित ३८ जना प्रहरीमा कोरोना संक्रमण भएकाे छ । एसपीसहित ठूलाे संख्यामा प्रहरी संक्रमित भेटिएपछि जिल्ला प्रहरी कार्यालय पूरै शिल गरिएकाे छ ।

बाल विवाहको आरोपमा १२ दिनअघि स्याङ्जाका चार जना पक्राउ परेकाे र पक्राउ परेकामध्ये बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको थियाे । त्यसपछि अरुहरुकाे स्वाव परिक्षण गरिएकाे थियाे । जसमा अरु धेरैमा पनि संक्रमण पुष्टि भएकाे हाे । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका अन्य तीन जनाकाे रिपोर्ट भने नेगेटिभ आएको छ ।

यससँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ। कार्यालय प्रमुख एसपीसहित हालसम्म ३८ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोखरास्थित क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार एक महिलासहित १६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको डिएसपी अधिकारीले जानकारी दिए। त्यस्तै, एक प्रहरी कर्मचारीको २८ महिनाको बच्चामा समेत कोरोना पोजेटिभ देखिएको छ। प्रहरी कर्मचारी, बच्चा र थुनुवासहित मंगलबार मात्र स्याङ्जा प्रहरी कार्यालयमा १८ जना कोरोना संक्रमित थपिएको डिएसपी अधिकारीले बताए।

यसअघि साउन ६ गते जिल्ला प्रहरी कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो। उनीहरूलाई सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गर्न स्वाब पोखरा पठाइएपछि रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर सबै प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पोखरा पठाइएको थियो। जसमा सोमबार मात्र स्याङ्जा प्रहरी प्रमुख एसपीसहित १८ जनामा संक्रमण भेटिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ७ बजे विज्ञप्ती जारी गरी स्याङ्जा प्रहरीका २० जनासहित ३१ जना नया संक्रमित भेटिएको पुष्टि गरेको छ। त्यसअनुसार स्याङ्जाकै वालिङ नगरपालिकामा १ जना, अर्जुनचौपारीमा ४ जना, बाग्लुङको निसीलामा ५ जना र बरेङमा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरूलाई नजिकको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

सबभन्दा धेरै संक्रमित भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा अझै संक्रमित संख्या बढ्न सक्ने अनुमान गरिएको छ। जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाएको र केहीको अझै परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ।

संक्रमित प्रहरी कर्मचारीलाई स्याङ्जाकै हेलुस्थित कालिका सामुदायिक अस्पतालको क्वारेन्टिनमा १६ जना, पुतलीबजार नगरपालिका-११ को करेन्डाडास्थित स्वास्थ्य चौकीको आइसोलेसनमा ४ जना र एसपीलाई जिल्ला प्रहरी कार्यालयकै क्वारेन्टिनमा राखिएको डिएसपी अधिकारीले बताए। मंगलबार साँझ भेटिएका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भएको उनले जानकारी दिए।

जिल्ला कार्यालयमै कार्यरत प्रहरी कर्मचारीमा कोरोना भाइरस फैलिएपछि मंगलबारदेखि स्याङ्जामा लकडाउन कडा पारिएको छ। मंगलबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन र पसलहरू बन्द गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

जिल्ला प्रहरी कार्यालय नै लामो समयदेखि सिल गर्नुपर्दा जिल्लाको शान्ति सुरक्षामा असर परेको उनले बताए। प्रहरीका साथै नेपाली सेना र शशस्त्र प्रहरी बललाई पनि जिल्लामा परिचालन गरेको उनको भनाइ छ।

Loading...