चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै रुसद्वारा चीनविरुद्ध हुने गठबन्धनमा नलाग्ने घोषणा

काठमाडौं । रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् ।

अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको सम्बन्ध राम्रो रहेको बताए । ‘चीन हाम्रो साझेदार हो,’ नियमित पत्रकार सम्मेलनमा पेस्कोवले भने, ‘रुस र चीनले विशेष साझेदारीको सम्बन्ध विकास गरेका छन्।’ सम्बन्ध विकास र आपसी हितका लागि मात्रै रुस कुनै पनि गठबन्धनमा सहभागी हुने पेस्कोवले बताए।

बिहीबार अमेरिकी विदेशमन्त्री माइक पम्पिओले चीनलाई काउन्टर दिन ‘नयाँ गठबन्धन’ बनाउन आह्वान गरेका थिए । अमेरिकाको क्यालिफोर्नियास्थित रिचर्ड निक्सन प्रेसिडेन्सियल लाइब्रेरीमा बोल्दै पम्पिओले उक्त आह्वान गरेका हुन् । उनी सो क्रममा चीनविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए।

Loading...